‘डाँडाको वरपीपल’को पारिवारिक ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – फूलपातीमा रिलिज हुने फिल्म ‘डाँडाको वरपीपल’को ट्रेलर रिलिज भएको छ । २ मिनेट ४४ सेकेण्ड लामो ट्रेलरले पारिवारिक कथा प्रस्तुत गरेको छ ।

शोभित बस्नेत निर्देशित फिल्ममा पारिवारिकसँगै जातीय र वृद्धाश्रमको मुद्धा पनि उठान गरिएको छ । १६ वर्षपछि अभिनेता भुवन केसी र शिव श्रेष्ठलाई एउटै फ्रेममा देख्न सकिन्छ ।

नवराज गिरीको कथा रहेको फिल्ममा शिव र भुवनसँगै गौरी मल्ल, सलोन बस्नेत, रुबिना थापा, विनोद न्यौपाने, राजीवजंग बस्नेत, अस्मिता जुरेली, हिउँवाला गौतम, प्रभात पललगायतका कलाकारहरुको अभिनय छ ।

नवराज गिरीको निर्माण रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन, रोशन श्रेष्ठको द्वन्द्व र मित्रदेव गुरुङको सम्पादन छ ।

कोरोना महामारीको दोस्रो लहरपछि रिलिज हुन लागेको पहिलो फिल्म भएकाले ‘डाँडाको वरपीपल’ले उद्योग चलायमान बनाउनेमा निर्देशक बस्नेत आशावादी देखिएका छन् । 

‘यो समयमा कसैले पनि फिल्म रिलिज गर्ने आँट देखाउनु भएन । तर, मैले यो क्षेत्र चलायमान बनाउनका निम्ति जोखिम मोलेरै फिल्म रिलिज गर्दैछु । आशा छ दर्शकको यो दशैँ खल्लो हुने छैन ।’ निर्देशक बस्नेतले भने ।

फिल्मको पहिलो गीत ‘देउराली बनेछ ढुंगाको’ रिलिज भैसकेको छ । तर, उक्त गीतले सोचेजस्तो हाइप बनाउन भने सकेको छैन । 

प्रतिक्रिया दिनुहोस्