राजेश हमाललाई गलत उपाधि दिएछु – शोभित बस्नेत



रंगखबर, काठमाडौँ – नेपाली कलाकारहरुको उपाधि बहस सुरु गरेका निर्देशक शोभित बस्नेतले अभिनेता राजेश हमालसँग माफि मागेका छन् ।

आइतबार राजधानीमा आफु निर्देशित फिल्म ‘डाँडाको वरपीपल’को प्रेसमिटमा निर्देशक बस्नेत राजेश हमालको तस्विरसहित उपस्थित भए ।

उनले छेउ मै अभिनेता हमालको फोटो राख्दै भने, ‘आजको प्रमुख अतिथि महानायक राजेश हमाल ।’ शोभितले राजेशलाई महानायक भनेपछि पत्रकारले सोधिहाले, ‘तपाईको प्रेसमिटमा राजेश हमालको फोटो प्रमुख अतिथि कसरी ?’

शोभित आफुले राजेश हमाललाई जहिले महानायक भन्दा पनि माथिको उपाधिमा राखेको बताए ।

‘म जहिले पनि गलत रहेछु । मैले राजेश हमाललाई जहिले सुपरस्टार भनिरहें । सुपरस्टार भन्दा माथिको उपाधि कुनै पनि छैन । म आजबाट हात जोडेर माफि माग्छु । किन भन्दा मैले गलत ट्याग दिएछु । मैले सुपरस्टार ठुलो भन्ने बुझेको थिए तर, महानायक ठुलो रहेछ । त्यसैले राजेश हमाललाई नै महानायक मानेर प्रमुख अतिथि स्वरुप यो फोटो प्रेसमिटमा राखेको हुँ ।’ शोभितले प्रष्ट पारे ।

शोभितले आजदेखि आफुले पनि राजेश हमाललाई नै महानायक मान्ने बताउदै भुवन केसीलाई सुपरस्टारको उपाधि दिए ।

केहि वर्ष अगाडीदेखि नेपाली कलाकारहरुको उपाधिमा विवाद भैरहेको छ । तर, पछिल्लो समय उपाधि विवाद साम्य भएको थियो ।

साता अगाडी ‘डाँडाको वरपीपल’ फिल्मको गीत रिलिज कार्यक्रममा शोभितले नै भुवन केसीलाई महानायकको उपाधि दिदै यो विवादलाई पुन: ब्युत्याएका थिए ।

शोभितले निर्देशन गरेको फिल्म ‘डाँडाको वरपीपल’ फूलपातीको दिनदेखि अलनेपाल रिलिज हुँदैछ । आफ्नो फिल्मको हाइप बढाउन शोभितले उपाधि विवादलाई ब्युत्याएको आरोप पनि लाग्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्