प्रेमगीत ३ – हिन्दि: राहत फतेहसहित चार बलिउड गायकले दिए स्वर



रंगखबर, काठमाडौँ – निर्माता सन्तोष सेनले आफु निर्देशित पहिलो फिल्म ‘प्रेमगीत ३’को लागि निक्कै मिहिनेत गरिरहेका छन् ।

हाइ बजेटमा निर्माण भएको यस प्रेमकथानक फिल्म उनले हिन्दि भर्सनमा पनि तयार गरे । करोडौँ खर्च गरेर हिन्दि डब गरेका सेनले फिल्मको लागि बलिउडका चर्चित गायक-गायिकाको स्वर रेकर्ड गराएका छन् ।

सेनका अनुसार हिन्दि भर्सनको लागि उनले बरिष्ठ गायक राहत फतेह अलि खानसहित अंकित तिवारी, पलक मुछाल र देव नेगीसँग गीत रेकर्ड गराएका हुन् ।

‘ए सनम तुहि तु’मा राहतको स्वर सुन्न सकिनेछ । अंकित र पलकले ‘तुम प्यार’मा स्वर रेकर्ड गरेका छन । भने, तेस्रो गीत ‘मुझमे बस जाना’ पलकसँगै देवले गाएका हुन् ।

हिन्दि गीतको लेखन कुमार र एम तुराजले गरेका हुन् ।

नेपालमा फागुन १३ मा रिलिज हुने फिल्मलाई हिन्दि भर्सनको माध्यमबाट संसारभर रिलिज गरिने बताइएको छ ।

भारतको ‘इम्पोसिबल फिल्मस्’ले हिन्दि थियटर राइट ४ करोड भारुमा खरिद गरिसकेको छ । भने, भारत रिलिजको लागि प्रदर्शन मिति भने तय भैसकेको छैन ।

सन्तोषसँगै स्वर्गीय छेतेन गुरुङको निर्देशन बनेको ‘प्रेमगीत ३’मा प्रदीप खड्का, क्रिष्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, लक्ष्मी वर्देवा, जीवन भट्टराई, मनिष राउत, माओत्से गुरुङ, अनुभव रेग्मी, पुस्कर कार्कीलगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्