‘लक्का जवान’सँग भिड्न तयार ‘कबड्डी ४’



रंगखबर, काठमाडौँ – आगामी वर्षको सुरुवात मै दुई ठुला फिल्म ‘कबड्डी ४’ र ‘लक्का जवान’बीच बक्सअफिस भिडन्त हुने भएको छ ।

निर्माता मध्येका एक किरण केसीले बैशाख २३ लाई ‘लक्का जवान’को प्रदर्शन मिति घोषणा गरेका थिए । तर, यो फिल्मको प्रदर्शन मिति घोषणा भएको १० दिन बित्न नपाउदै ‘कबड्डी ४’ भिड्न आइपुगेको छ ।

सोमबार टिजर रिलिज गर्दै निर्माण पक्षले बैशाख २३ लाई प्रदर्शन मिति घोषणा गरेपछि ‘लक्का जवान’ टिममा तनाव सिर्जना भएको छ ।

उता पहिले प्रदर्शन मिति तोकेकाले ‘लक्का जवान’ टिम पछाडी हट्ने मूडमा छैन ।

रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’मा दयाहाङ राई, सौगात मल्ल, मिरुना मगर, बुद्धि तामाङ, विजय बराल, कमलमणि नेपाललगायतका कलाकारहरुको अभिनय छ । मल्टीस्टार र ब्लकबस्टर सिरिज भएकाले ‘कबड्डी ४’बाट बक्सअफिसले ठुलो अपेक्षा राखेको छ ।

यस्तै हास्यकलाकार शिवहरी पौड्यालको डेब्यु निर्देशन ‘लक्का जवान’मा प्रियंका कार्की, दीलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, शिवहरी पौडेल, सुरेन्द्र केसी, जयनन्द लामालगायतका चर्चित कलाकारहरुको अभिनय छ ।

पछिल्लो समय कमेडीको बजारमा भिजेका कलाकार हुँदा ‘लक्का जवान’ले पनि बक्सअफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ ।

दुई फिल्मको भिडन्तले एक-अर्कालाई प्रत्यक्ष असर पुर्याउने छ । दुवै कमेडी जनराको फिल्म भएकाले दर्शक बाँडिनेमा दुई मत छैन ।

प्रतिक्रिया दिनुहोस्