BO: बिलियन क्लबको बाटोमा ‘स्पाइडर म्यान: नो वे होम’



रंगखबर, काठमाडौँ – डिसेम्बर १७ देखि विश्वव्यापी प्रदर्शनमा आएको हलिउड फिल्म ‘स्पाइडर म्यान: नो वे होम’ले उत्साहजनक कलेक्सन गर्न सफल भएको छ ।

घरेलु बक्सअफिसमा फिल्म तीन दिन भित्र नम्बर १ मा पुगेको थियो । चार दिनमा फिल्मले घरमै २९ करोड ७२ लाख डलरको कारोबार गर्न सफल भयो ।

‘शाङ-ची एण्ड द लिजेन्ड अफ द टेन रिंग्स’ यसअघि घरेलु बक्सअफिसमा सर्वाधिक व्यापार गर्ने फिल्म थियो । अब यो फिल्म दोस्रो नम्बरमा खस्किएको छ ।

‘स्पाइडर म्यान: नो वे होम’को घर बाहिरको कलेक्सन पनि उत्कृष्ट छ । विदेशमा फिल्मको चार दिने कलेक्सन ३४ करोड डलर भन्दा माथि छ ।

२०२१ मा विश्वव्यापी सर्वाधिक कलेक्सन गर्ने फिल्मको सुचीमा ‘स्पाइडर म्यान’ छैटौँ नम्बरमा उक्लिएको छ । र विश्वव्यापी कलेक्सन ६३ करोड ८० लाख डलर भन्दा माथि पुगेको छ ।

विश्वव्यापी सर्वाधिक कलेक्सन गर्ने फिल्मको नम्बर १ वरियतामा चाइनिज फिल्म ‘द ब्याटल एट लेक चंग्जिन’ छ । उसको कलेक्सन ९० करोड २४ लाख डलर छ ।

‘स्पाइडर म्यान’ले ‘द ब्याटल एट लेक चंग्जिन’को रेकर्ड तोड्ने अनुमान छ । साथै, २०२१ मा बिलियन कमाई गर्ने पहिलो फिल्म बन्ने संकेत पनि देखाएको छ ।

‘स्पाइडर म्यान’ भारतीय र नेपाली बक्सअफिसमा पनि हावी देखिएको छ । भारतमा प्रदर्शनको ६ दिन मै फिल्मले १ सय ३१ करोड भारु कलेक्सन गरिसकेको छ ।

नेपाली बक्सअफिस रिपोर्ट सार्वजनिक नभएपनि फिल्मले बुधबारसम्म हाउसफुलको व्यापार गरिरहेको छ । यो फिल्म हेर्ने दर्शकको कमि छैन ।

प्रतिक्रिया दिनुहोस्