‘चुरीफुरी’ रिलिज: छैन शो, छैनन् दर्शक



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि नेपाली फिल्म ‘चुरीफुरी’ सार्वजनिक प्रदर्शनमा आएको छ । ऋषिराज आचार्य निर्देशित फिल्म कमेडी जनराको हो ।

सिमित प्रचारका बीच रिलिज भएको फिल्मको हाइप निक्कै कमजोर छ । उता उत्साहजनक रुपमा प्रदर्शन भैरहेका ‘स्पाइडर म्यान: नो वे होम’ र ‘पुष्पा’को चेपुवाले फिल्मलाई असर गरेको छ ।

मल्टीप्लेक्समा निक्कै कम शो पाएको फिल्मको बुकिङ पनि दयनीय देखिएको छ । फिल्मलाई देशकै ठुलो मल्टीप्लेक्स चेन क्युएफएक्सले जम्मा ३ शो दिएको छ । यस्तै क्युज, बिग मुभिज, सिडिसी, आइएनआइ सिनेमाज, किर्तिपुर सिनेप्लेक्स र वान सिनेमाजले समान १/१ शो उपलब्ध गराएका छन् ।

फिल्मको कमजोर हाइपले गर्दा बिएसआर मुभिज र एफक्युबले कुनै शो निकाल्न सकेनन् ।

बरु शुक्रबार नै रिलिज भएका दुई विदेशी फिल्म ‘अतरंगी रे’ र ‘द म्याट्रिक्स रिजुरेक्सन’ले सन्तोषजनक शो पाएका छन् । तर, यी दुवै फिल्मले पनि राम्रो सुरुवात गर्न चुकेका छन् ।

ऋषिराज कै कथा र पटकथा रहेको ‘चुरीफुरी’मा अभिषेक श्रेष्ठ, पूजा पन्त, राजीवजंग बस्नेत, रविन्द्र झा, शिशिर भण्डारीलगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्