सातामा एउटा मात्रै नेपाली फिल्म, पुन: सर्नुपर्यो ‘चपली हाइट ३’



रंगखबर, काठमाडौँ – पुष १५ मा रिलिज हुने भनिएको फिल्म ‘चपली हाइट ३’ फेरी सरेको छ । यसअघि पुष २ मा रिलिज तोकेको ‘चपली हाइट ३’ विदेशी फिल्मको चेपुवामा पर्ने डरले १५ मा पुगेको थियो ।

आइतबार नेपाल चलचित्र संघले निर्माता संघ र बिकास बोर्डको सहभागितामा बैठक सम्पन्न गरेर ‘चपली हाइट ३’लाई पुष ३० गतेका लागि सारिदिएको हो । अब पुष १६ को डेटमा एक मात्र नेपाली फिल्म ‘कठपुतली’ रिलिज हुनेछ ।

चलचित्र संघले असोज १० गते महासचिव अशोक शर्माको संयोजकत्वमा जारी गरेको ६ बुँदे निर्णयलाई पनि परिमार्जित गरेको छ । जस अनुरुप अब बैशाख १ गतेसम्म कुनै पनि डेटमा एक मात्र नेपाली फिल्म प्रदर्शन गर्न पाइनेछ ।

यसअघि दुई साताको अन्तरालमा मात्रै नेपाली फिल्म प्रदर्शन गर्न पाइने निर्णय गरिएको थियो ।

पटक-पटक फिल्म सारेर थाकिसकेका निर्माता अर्जुन कुमारले संघको नियम मान्दै आफु फेरिपनि पछाडी हट्न तयार रहेको बताए ।

‘संघका पदाधिकारीको आग्रहमा मैले फेरि सर्ने निधो गरेको छु । मत पुष १५ मै फिल्म रिलिज गर्छु भनेर लागिपरेको थिएँ । तर, उहाँहरुले हप्तामा एउटा नेपाली फिल्म रिलिज गर्ने निर्णय गरेकाले सर्न बाध्य भएको हुँ । नत्र भने निक्कै कम शो दिएपनि म फिल्म रिलिज गर्ने मनस्थितिमा पुगेको थिएँ ।’

यस्तै १० गतेको विज्ञप्तिको बुँदा नम्बर ४ को निर्णयलाई भने संघले त्रुटीबस छापिएको भनेको छ । उक्त बुँदामा लेखिएको थियो, ‘नेपाली चलचित्रको प्रदर्शनको मिति तोकिएको समयमा विदेशमा चलचित्रहरु सोहि मितिमा प्रदर्शन गरिने छैन ।’

‘यो हाम्रो निर्णय मै थिएन । गल्तिबस छापिएको हो । अहिले संशोधन भैसकेको छ ।’, संयोजक अशोक शर्माले भने ।

साथै, शर्माले विदेशी फिल्म रिलिजको सन्दर्भमा आफुहरुले केहि गर्न नसक्ने बताए । ‘हिन्दि र अंग्रेजी फिल्मको डेट हामीले त तोक्ने होइन । विदेशी फिल्म यो डेटमा लगाउ त्यो डेटमा लगाउ भन्ने हाम्रो हातमा हुँदैन । त्यसैले उक्त बुँदालाई करेक्सन गर्दै नेपाली फिल्मको हकमा मात्र लागु हुने निर्णय गरेका हौँ ।’

प्रतिक्रिया दिनुहोस्