प्रिमियरमा ‘कठपुतली’को प्रशंसा



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको हरर नेपाली फिल्म ‘कठपुतली’लाई प्रिमियरमा सकारात्मक प्रतिक्रिया मिलेको छ ।

बुधबार राजधानीको बिग मुभिजमा सम्पन्न ग्राण्ड प्रिमियरमा पाहुनाहरुले फिल्मको प्रशंसा गरे । विशेष गरि फिल्ममा कलाकारहरुको अभिनय, पटकथा, साउण्ड, लाइटिङ, कस्ट्युम, छायांकन पक्षको खुलेर तारिफ भयो ।

नेपालमा एक दुई हरर फिल्म छोडेर अन्य नाम मात्रका हरर फिल्म सावित भएका थिए । ति फिल्म हेर्दा दर्शक डराउने भन्दा पनि हाँसेर हल बाहिर निस्किएका थिए । तर, ‘कठपुतली’ ति फिल्म भन्दा माथि देखिएको छ ।

२ घण्टा २ मिनेट लामो फिल्मले दर्शकलाई मज्जाले बाँध्न सक्छ । नेपाली पन आभास हुन्छ । पटक-पटक दर्शकलाई दृश्य र साउण्डले तर्साउछ ।

अभिनेत्री मिथिला शर्माले उत्कृष्ट अभिनय गरेकी छन् । कर्मा र उषा रजकको अभिनयले पनि मन जित्छ । अन्य कलाकारद्वय गौरी मल्ल, शिल्पा मास्के, ध्रुव कोइरालालगायतका कलाकारहरुले पनि आफ्नो भूमिका बखुबी निभाएका छन् ।

फिल्म हेर्न पुगेका निर्देशकद्वय आकाश अधिकारी र प्रदीप भट्टराईले फिल्मको टेक्निकल र निर्देशकीय पक्षको खुलेर प्रशंसा गरे ।

प्रिमियरमा फिल्मको टिम, पत्रकारहरु र केहि फिल्मकर्मीहरुको उपस्थिति थियो ।

सम्पदा मल्लले लेखेको फिल्मले दरबार भित्र हुने महिला हिँसा र त्यसपछिको बदलाको कथा भन्छ । फिल्मलाई भीमसेन लामाले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्