‘स्वर कोकिला’ लता मंगेशकरको निधन



रंगखबर, काठमाडौँ – भारतीय वरिष्ठ गायिका लता मंगेशकरको निधन भएको छ । आइतबार मुम्बई स्थित क्यान्डी अस्पतालमा लताले ९२ वर्षको उमेरमा अन्तिम सास लिइन ।

जनवरी ८ तारिखमा उनमा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो । उनि निमोनियाबाट पनि ग्रसित थिइन् । त्यसयता एक महिना उनलाई आइसियु र भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको थियो ।

‘स्वर कोकिला’को उपनामले चर्चित लताले भारतीय ३६ भाषामा ५० हजार भन्दा बढी गीतमा आफ्नो जादुयी आवाज भरेकी छन् । उनले केहि विदेशी (नेपालीसहित) गीतमा पनि स्वर भरेकी छन् ।

लता ‘भारत रत्न’, ‘पद्मभुषण’, ‘दादासाहेब फल्के अवार्ड’, ‘पद्मविभूषण’, ‘महाराष्ट्र भुषण’ सम्मानित गायिका हुन् ।

लताको निधनले भारतीय संगीत क्षेत्र शोकमा डुबेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनमा दु:ख व्यक्त गर्दै श्रद्धान्जली दिएका छन् । मोदी लताको अन्तिम दर्शनको लागि मुम्बई जानेछन ।

लताको निधनमा भारतीय सरकारले देशमा दुई दिने राष्ट्रिय शोक घोषणा गरेको छ । आइतबार र सोमबार भारतमा राष्ट्रिय झण्डा आधा झुकाइने छ ।

लताको पार्थिव शरीरको अन्तिम संस्कार आइतबार साँझ ६ बजे राजकीय सम्मानका साथ मुम्बईको शिवाजी पार्कमा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्