‘लप्पन छप्पन २’ले फेरि छाड्यो महाशिवरात्री



रंगखबर, काठमाडौँ – दुई पटक महाशिवरात्रीको छेकोमा रिलिज डेट तोकेको फिल्म ‘लप्पन छप्पन’ फेरी पोस्टपोण्ड भएको छ । अब फिल्म फागुन २० गतेदेखि अलनेपाल रिलिज हुनेछ ।

२०७६ सालको महाशिवरात्रीको विदा खान फागुन ९ लाई रिलिज मिति तोकेको फिल्म कोरोना आगमनका कारण प्रदर्शन हुन् पाएन ।

त्यसपछि २०७७ चैत २८ को डेटमा पनि कोरोनाले फिल्म रिलिज हुन् दिएन । बैशाख १२ को डेट पनि घोषणा र पोस्टपोण्ड गर्न मात्र काम लाग्यो ।

पटक-पटकको रिलिज स्थगितपछि निर्माण पक्षले पुन: महाशिवरात्री लक्षित गर्दै फागुन १३ लाई रिलिज तोकेको थियो । यसपटक भने कोरोनाको कारण नभई ‘म यस्तो गीत गाउँछु २’को कारण ‘लप्पन छप्पन २’ले डेट सार्नु परेको हो ।

चलचित्र प्रदर्शन कार्यदलले फागुन १३ मा ‘म यस्तो गीत गाउँछु २’लाई रिलिज अनुमति दिएपछि ‘लप्पन छप्पन २’ सर्न बाध्य भएको हो ।

निर्माण पक्षका अनुसार अब फागुन २० को डेटमा भने फिल्म कुनै पनि हालतमा रिलिज हुने बताएका छन् ।

मुकुन्द भट्टले निर्देशक गरेको एक्सन ड्रामामा शिव श्रेष्ठ, सौगात मल्ल, अनुपविक्रम शाही, आना ढकाललगायतका कलाकारहरुको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्