कलाकार जयनन्द लामाको निधन



रंगखबर, काठमाडौँ – नेपाली कलाकारिता क्षेत्रका स्रष्टा जयनन्द लामाको निधन भएको छ । उनको बुधबार विहान आफ्नै घरको पार्किङमा शव फेला परेको बताइएको छ ।

फिल्म ‘छक्का पन्जा’को एक दृश्यमा जयनन्द लामा

महानगरीय प्रहरी वृत्त थिमिका प्रहरी नायब उपरीक्षक नरहरि रेग्मीले लामाले कार पार्किङ गरेर निस्कदा भित्तामा ठोक्किएर निधन भएको हुन सक्ने बताएका छन् ।

बुधबार विहान आफ्नै घर अगाडी लामाको शव घोप्टो परेको अवस्थामा छिमेकीले फेला पारेका थिए । सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामा भक्तपुरको कौशलटारमा बस्थ्ये ।

लोक गायन, फिल्म निर्देशन, अभिनय, निर्माण, शब्द रचनाको विधामा लामाले आफ्नो कला देखाएका छन् । पछिल्लो समय उनले ‘छक्का पन्जा’ सिरिजमा पनि अभिनय गरेका थिए ।

उनको हास्यकलाकारिता दर्शकले मन पराउन थालेपछि लामा पछिल्लो समय नेपाली फिल्ममा चरित्र अभिनेताको रुपमा व्यस्त थिए ।

सय भन्दा बढी फिल्ममा अभिनय गरिसकेका लामाले ‘माया गर्छु म’, ‘कर्मको फल’ जस्ता फिचर फिल्म निर्देशन पनि गरेका छन् ।

लोकगीत तर्फ उनका ‘चुँइ चुँइ चुँइकने जुत्ता’, ‘कलकते काँइयो’, ‘मुलाको चाना’, ‘के को साँचो’, ‘सुर्तीको ठुटो’, ‘भोली एतिखेर’, ‘चट्ट परेको चुल्ठी’, ‘दरबारी सुनको बुलाकी’ लोकप्रिय छन् ।

प्रतिक्रिया दिनुहोस्