शो काउन्ट: ‘MYGG2’ दोस्रो नम्बरमा, ‘गंगुबाई काठियावाडी’सँग टक्कर



रंगखबर, काठमाडौँ – भोली शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘म यस्तो गीत गाउँछु २’को अनलाइन बुकिङ खुल्ला गरिएको छ ।

देशका नाम चलेका मल्टीप्लेक्सले फिल्मलाई राम्रो शो उपलब्ध गराएका छन् । हलिउडको ‘अनचार्टेड’, बलिउडको ‘गंगुबाई काठियावाडी’ र तामिल ‘वालिमाइ’सँग फिल्मले बक्सअफिस प्रतिस्पर्धा गर्नु पर्नेछ ।

सरकारले फागुन १ गतेदेखि हल संचालन गर्न अनुमति दिएपछि हलमा कोरोनाका कारण पुरा प्रदर्शन हुन् नपाएका फिल्म चलाइएको थियो । तर, कुनै पनि फिल्मले कोरोनापछि दर्शक तान्न सकेनन् ।

शुक्रबारदेखि भने हलमा फ्रेस फिल्म मात्र प्रदर्शन हुनेछन । रिलिज हुने फ्रेस फिल्मले हलसम्म दर्शक तान्ने अनुमान गरिएको छ ।

नयाँ फिल्मका लागि देशका ९ ओटा ठुला मल्टीप्लेक्सले १६७ शो निकालेका छन् । जसमध्ये सबैभन्दा धेरै शो ‘गंगुबाई काठियावाडी’ले पाएको छ ।

म यस्तो गीत गाउँछु २

सुदर्शन थापाले निर्देशन गरेको फिल्मले मल्टीप्लेक्समा ३०.५३ प्रतिशत शो कब्जा गरेको छ । क्युएफएक्सले आफ्ना स्टेशनमा २५ शो निकालेको छ ।

यस्तै बिएसआरले ५, बिग मुभिज/एफक्युबले समान ४/४, क्युज/आइएनआइ लोत्से/वान सिनेमाजले ३/३ र किर्तिपुर सिनेप्लेक्स/सिडिसीले समान २/२ शो ‘म यस्तो गीत गाउँछु २’को लागि छुट्याएका छन् ।

प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको फिल्ममा पल शाह र पूजा शर्माको मुख्य भूमिका छ ।

गंगुबाई काठियावाडी

अलिया भट्ट स्टारर फिल्मले  ३२.९३ प्रतिशत शो आफ्नो पक्षमा पारेको छ । सुरुवाती शो काउन्टमा यो नम्बर १ मा छ ।

संजयलीला भन्सालीले निर्देशन गरेको फिल्ममा आलियासँगै अजय देवगण, विजय राज, सन्तानु महेश्वरीलगायतका कलाकारहरुको अभिनय छ ।

तामिल फिल्म ‘वालिमाइ’ले २०.३५ प्रतिशत शो कब्जा गर्दा हलिउडको ‘अनचार्टेड’ले १६.१६ प्रतिशत शोजमा आफ्नो उपस्थिति जनाउने छ ।

(यो तथ्यांकमा क्युएफएक्स, बिग मुभिज, सिडिसी, बिएसआर, आइएनआइ लोत्से, किर्तिपुर सिनेप्लेक्स, क्युज सिनेमाज, वान सिनेमाज र एफक्युब हल मात्र समावेश छन्)

प्रतिक्रिया दिनुहोस्