अदिति र धिरजको ‘बाबरी’ले तय गर्यो रिलिज डेट



रंगखबर, काठमाडौँ – करिब चार वर्ष अगाडी रिलिज भएको ‘कृ’बाट नेपाली फिल्ममा डेब्यु गरेकी अभिनेत्री अदिति बुढाथोकीलाई अब छिट्टै नै दर्शकले हेर्न पर्दामा हेर्न पाउने भएका छन् ।

उनि अभिनित फिल्म ‘बाबरी’को रिलिज मिति तय गरिएको छ । यो फिल्म भदौ ३१ बाट प्रदर्शनमा आउनेछ ।

अदितिसँगै यो फिल्ममा लामो समय पश्चात दर्शकले अभिनेता धिरज मगरलाई पनि पर्दामा हेर्न पाउने छन् । साढे तीन वर्ष अगाडी रिलिज भएको डेब्यु फिल्म ‘इन्टु मिन्टू लण्डनमा’पछि धिरज पर्दामा देखिएका छैनन् ।

अदिति र धिरजको दोस्रो फिल्ममा यो पहिलो सहकार्य हो । यहि फिल्मबाट अभिनेत्री तृप्ति नाडकरका छोरा धिरज नाडकरले पनि अभिनयमा डेब्यु गर्दैछन् ।

निर्माण पक्षले सार्वजनिक गरेको फिल्मको पोस्टरमा मुख्य कलाकारहरुले निर्वाह गरेको भूमिकाको नाम खुलाइएको छ ।

फिल्ममा अदितिले ‘विजेता’, धिरज मगरले ‘विक्रान्त’ र धिरज नाडकरले ‘रोनिश’को भूमिका निर्वाह गरेका छन् ।

त्रिकोणात्मक प्रेमकथामा आधारित यस फिल्मलाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । निर्देशकको रुपमा सुरेन्द्रको पछिल्लो रिलिज फिल्म ‘कृ’ हो ।

बाबरी फिल्म र सुष्मा प्रोडक्सनको व्यानरमा निर्मित फिल्ममा पुष्पा बुढाथोकीले लगानी गरेकी छन् । निर्माणमा उनलाई सुष्मा गुरुङले सघाएकी छन् ।

काठमाडौँ, झापा, मोरङ र उत्तरी सिक्किममा छायांकन गरिएको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन् ।

प्रतिक्रिया दिनुहोस्