सगरमाथाको अगाडी रोमान्टिक रमेश र एक्सन मूडमा निखिल ~ फोटोफिचर ~



रंगखबर, काठमाडौँ – रोमान्टिक हिरो रमेश उप्रेती र एक्सन स्टार निखिल उप्रेतीले ‘सगरमाथा क्षेत्र’को भ्रमण गरेका छन् ।

समुन्द्री सतहबाट ५ हजार ६ सय ४४ मिटरको उचाईमा रहेको ‘कालापत्थर’ हिमालमा उनीहरुले पाइला टेकेका हुन् । ‘सगरमाथा क्षेत्र’ हिमालयको सबैभन्दा लोकप्रिय ठाउँ हो । साहसिक यात्राका लागि यो क्षेत्र विश्व मै परिचित छ ।

८,८४८.८६ मिटरको विश्व कै सर्वोच्च शिखर सगरमाथाको अगाडी रमेशले रोमान्टिक अन्दाजमा पोज दिएका छन् । उता निखिलले आफ्नो छवि अनुसारको एक्सन पोज दिएका छन् ।

एक्सन पोजमा निखिलले जमिन छोड्दा सगरमाथा छेकिएको छ । पृष्ठभूमिमा नुप्त्से हिमाल (७,८६१ मि) देखिएको छ ।

यस्तै अभिनेता उप्रेतीले पनि सगरमाथाको अगाडी आफ्नो रोमान्टिक सिग्नेचर पोज दिएका छन् । रातो रंगको पोसाकमा उनको रोमान्टिक पोज मज्जाले खुलेको छ ।

निखिल र रमेशले विश्व कै अग्लो स्थानमा रहेको ‘होटेल एभरेस्ट भ्यु’ (३८८० मि)को अगाडी पनि पोज दिएका छन् ।

बुझिए अनुसार रमेश र निखिल नयाँ प्रोजेक्टको लोकेशन हन्टिङ र साइड भिजिटका लागि त्यहाँ पुगेका हुन् । यी दुई बीच सँगै फिल्म गर्ने योजनापनि रहेको बुझिएको छ ।

वि:सं. २०६० सालमा रिलिज भएको सुपरहिट फिल्म ‘मायाको जाल’मा निखिल र रमेशले सँगै काम गरेका थिए । उक्त फिल्ममा रमेशले रोमान्टिक र निखिलले एक्सन भूमिकामा अभिनय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्