मनास्लुपछि सगरमाथा चढ्दै दीया, कीर्तिमानी आरोही निर्मल पुर्जाले साथ दिने



रंगखबर, काठमाडौँ – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको तयारीमा रहेकी अभिनेत्री दीया पुनलाई फिल्म ‘मन्त्र’ टिमले शुभकामना दिदै विदाई गरेको छ ।

‘मन्त्र’मा दीयाले मुख्य भूमिका निर्वाह गरेकी छन् । मंगलबार राजधानीमा एक कार्यक्रम आयोजना गर्दै ‘मन्त्र’ टिमले दीयालाई विदाई गरेको हो ।

दीया बुधबार सगरमाथा क्षेत्रतर्फ प्रस्थान गर्नेछिन । आरोहणमा उनलाई किर्तिमानी आरोही निर्मल पूर्जा र मिङ्मा शेर्पाले साथ दिनेछन । एलिट एक्सिपिडिसन दल मार्फत दीयाले आरोहण गर्न लागेकी हुन् । आरोहणको लागि उनलाई तीन महिनाको समय लाग्नेछ ।

मौसमले साथ दिएमा दीयाले ६ अप्रिलमा सगरमाथा (८,८४८.८६ मि) चुचुरो चुम्नेछिन ।

दीयाले यसअघि अर्जेन्टिनाको माउन्ट ओकुनकागवा (६,९६१ मि) र विश्व कै आठौँ अग्लो हिमाल मनास्लु (८,१६३ मि)को सफल आरोहण गरिसकेकी छन् ।

सगरमाथा आरोहणको उत्सुकताबारे उनले अगाडि भनिन्, ‘सामागाउँमा चलचित्र छायाँकन गर्ने क्रममा बिहान मनास्लु हिमाल प्रष्ट देखिन्थ्यो । त्यतिबेला हिमाल चढ्छु भनेर सोचेकी थिइनँ । अब सगरमाथा चढ्ने कोसिस गर्दैछु ।’

आफ्नै ४२ लाख खर्चमा दीयाले तीन ओटा संस्थाको च्यारिटीका लागि सगरमाथा आरोहण गर्न लागेकी हुन् ।

विदाई गर्दै गर्दा ‘मन्त्र’का मुख्य कलाकार सौगात मल्लले दीयाको सगरमाथा आरोहण गर्ने कदमले आफुमा पनि उर्जा थपेको बताए ।

मनास्लुको काखमा खिचिएको ‘मन्त्र’


खिल बहादुर गुरुङको निर्देशन तयार फिल्म ‘मन्त्र’ मनास्लुको आधार शिविर (४८०० मि) आसपासमा छायांकन गरिएको हो ।

साम्तेन भुटिया,सुनिल नेउरे र परिच्छेद सेनले लेखेको फिल्ममा सौगात र दीयासँगै बुद्धी तामाङ, नमिता घिसिङ र वीरबहादुर लामाको पनि मुख्य भूमिका छ ।

मुभी र्याकको व्यानरमा निर्मित फिल्ममा संजय लामाको छायांकन, मित्र डी गुरुङको सम्पादन र शम्भुजित बाँस्कोटा/सन्तोष सुनारको संगीत छ ।

देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको फिल्मको निर्माता मनोज राजभण्डारी हुन् । भने, सह -निर्मातामा रविराज कार्की, सुरेश कार्की, वीर बहादुर लामा, शुभ श्रेष्ठ छन् । फिल्म बैशाख १६ बाट अलनेपाल प्रदर्शनमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्