‘चिसो एष्ट्रे’को अस्ट्रेलिया राइट्स महँगो रकममा विक्री



रंगखबर, काठमाडौँ – चैत ४ देखि अलनेपाल प्रदर्शनमा आउन लागेको फिल्म ‘चिसो एष्ट्रे’को विदेश राइट्स विक्री सुरु भएको छ ।

फिल्म निर्माण कम्पनि कंगारु क्रिएसन र लोकल सिनेमाले अस्ट्रेलियाको कमेरो इभेन्ट्सलाई ३० हजार अस्ट्रेलियन डलरमा राइट्स विक्री गरेको हो । यो रकम अहिलेको डलर रेट अनुसार नेपाली २७ लाख रुपैयाँ हुन् आउँछ ।

‘अष्ट्रेलियामा निरन्तर कार्यक्रमहरू गरिरहने कमेरो इभेन्ट्ससँग हाम्रो फिल्म पनि चलाउने सम्झौता भएको छ । उहाँहरूसँग पहिला पनि थुप्रै नेपाली फिल्म प्रदर्शन गरेको अनुभव छ,’ फिल्मका निर्माता महेशबाबु तिमल्सिनाले भने, ‘ लामो समयपछि अष्ट्रेलियामा नेपाली फिल्म प्रदर्शन हुन लागेको छ । यसले हामीसँगै अष्ट्रेलियाका नेपाली पनि उत्साहित हुनुहुन्छ । यसले विदेशतिर नेपाली फिल्म प्रदर्शनको बाटो बनाउने कुरामा पनि हामी आशावादी छौँ ।’

दिनेश पाल्पालीले निर्देशन गरेको ‘चिसो एष्ट्रे’ कवि भूपी शेरचनको कविताको भावसँग प्रभावित भएर निर्माण गरिएको फिल्म हो ।

फिल्मका सार्वजनिक गीत र ट्रेलरले दर्शक माँझ एक किसिमको छाप छोड्न सफल भएका छन् । बनिरहेका फिल्म भन्दा भिन्न लाग्ने प्रचार सामाग्री भएकाले बक्सअफिस र फिल्म मन पराउनेहरुका लागि ‘चिसो एष्ट्रे’ले आशा जगाएको छ ।

फिल्ममा दिव्य देव, नविन लम्साल, सृष्टि श्रेष्ठ, निकुन श्रेष्ठ, रविन तामाङ, सुशील राज पाण्डेलगायतका कलाकारहरुको अभिनय छ ।

महेशबाबु तिमल्सिनाको प्रस्तुति रहेको फिल्ममा प्रविन स्याङ्बा र सुष्मिता पराजुलीको निर्माण छ । फिल्मका सहनिर्मातामा रुपेश ढुंगाना, नविन ढुंगाना र सुजन खतिवडा छन् ।

प्रतिक्रिया दिनुहोस्