बक्सअफिसमा आगो बाल्दै ‘द कश्मिर फाइल्स’, अगाडी ‘राधेश्याम’पनि फिक्का



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आएको बलिउड फिल्म ‘द कश्मिर फाइल्स’ले घरेलु बक्सअफिसमा बम्पर व्यापार गर्न सफल भएको छ ।

विवावित विषयका कारण चर्चामा रहेको फिल्मले पहिलो दिन ३.५५ करोडको व्यापार गर्दै बक्सअफिसमा तुफान ल्याएको थियो । जम्मा ५६१ पर्दाबाट प्रदर्शन सुरु गरेको फिल्मको पहिलो दिनको व्यापारले ट्रेडलाई आश्चर्यचकित बनाएको थियो ।

समिक्षात्मक रुपमा बलियो भएपछी दोस्रो दिनदेखि नै फिल्मको व्यापारमा उछाल आयो । दोस्रो दिन १३९.४४ प्रतिशत वृद्धिसहित फिल्मले ८.५० करोडको व्यापार गर्यो ।

पहिलो र दोस्रो दिनको व्यापार हेरेर हलले आइतबारका लागि पर्दाको संख्या बढाए । ५६१ पर्दादेखि सुरु भएको प्रदर्शन आइतबारबाट २००० मा पुग्यो ।

आइतबार १५.१० करोडको व्यापार गर्दै फिल्मले तीन दिन मै लगानी रिकभर गरेको छ । विवेक अग्निहोत्रीले निर्देशन गरेको यो फिल्म जम्मा १४ करोडको बजेटमा निर्माण भएको हो ।

पहिलो दिनको भन्दा तेस्रो दिनको व्यापार ३२५.३५ प्रतिशतले बढी हो । पहिलो विकेन्डमा फिल्मको टोटल कलेक्सन २७.१५ करोड पुगेको छ ।

पहिलो दिनदेखि नै आक्रामक व्यापार सुरु गरेको फिल्मले तेस्रो दिनसम्म आइपुग्दा ‘राधेश्याम’, ‘गंगुबाई काठीयावाडी’ र ‘द ब्याटम्यान’ जस्ता फिल्मलाई उछिन्न सफल भएको खबर भारतीय मिडियामा सम्प्रेषण भएका छन् ।

मिथुन चक्रवर्ती, अनुपम खेर, दर्शन कुमार, पल्लवी जोशीजस्ता कलाकारहरुले अभिनय गरेको फिल्मलाई दर्शक तथा समिक्षकहरुले उत्कृष्ट भनिरहेका छन् ।

यो फिल्मलाई आइएमडिबीमा ८.३ रेटिङ मिलेको छ । अहिलेसम्म १ लाख ३५ हजारले यस फिल्मलाई रेट गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्