प्रिमियरमा ‘चिसो एष्ट्रे’ हेरेपछि के भने फिल्मकर्मीले ?



रंगखबर, काठमाडौँ – शुक्रबारबाट रिलिज हुने फिल्म ‘चिसो एष्ट्रे’को काठमाडौँमा प्रिमियर सम्पन्न भएको छ । मंगलबार आयोजित प्रिमियरमा फिल्मकर्मी, आगन्तुक पाहुना र पत्रकारले फिल्म हेरे ।

प्रिमियरपछि मिडियासँगको कुराकानीमा प्राय: फिल्मकर्मीले ‘चिसो एष्ट्रे’लाई लिएर सकारात्मक शब्द खर्चिए । विशेष गरि फिल्ममा अभिनय, संवाद, छायांकनका पक्षले तारिफ भेटे ।

कसले के भने ?

राजेश हमाल

फिल्मले बाध्न सक्छ । युवाहरुको आकान्क्षा, जित, हार, आक्रोस, माया सबै देखाइएको छ । रेलेट गर्न सकिन्छ । यो काठमाडौँ खाल्डोको एउटा कोणबाट युवा जमातको कथा भनिएको छ । पात्रहरुको पक्षबाट उनीहरुले भोग्ने कुराहरु कहिँ कतै दर्शकले रिलेट गर्न सक्नु हुन्छ ।

यसले सम्पूर्ण काठमाडौँ बासिलाई त प्रतिनिधित्व गर्दैन । तर, काठमाडौँ भित्रको एउटा पक्षको चाहिं प्रतिनिधित्व गर्छ ।  मेरो रोजाइको फिल्म भएकाले म यसलाई एउटा राम्रो फिल्मको दर्जा दिन्छु ।

खगेन्द्र लामिछाने 

मैले हेर्ने र गर्ने फिल्म भन्दा विल्कुलै फरक छ । सबै कलाकारहरुले राम्रो काम गर्नु भएको छ । कथा भन्ने नयाँ शैली भित्रिएको छ । एकदमै मज्जा लाग्यो फिल्म । सबैले हेर्दा हुन्छ ।

निश्चल बस्नेत

फिल्मको धेरै पक्षहरु राम्रो छ । देखिने काम भन्दा सोचिने काम धेरै भएको छ, फिल्ममा । दृश्य भाषा दमदार छ । छायांकन पक्ष राम्रो छ । कस्ट्युमहरु, टाइमलाइनपनि राम्रो पाएँ । राम्रोसँग प्रस्तुति दिइएको फिल्म हो । हुँदाहुँदै पनि केहि अंझ राम्रो बनाउन सकिन्थ्यो होला । तर, जति छ त्यो राम्रोसँग बनाइएको छ ।

प्रदीप भट्टराई 

नेपाली सिनेमा ‘लूट’पछि एउटा धारमा बगिरहेको थियो । अब त्यसलाई पनि ब्रेक गर्ने सिनेमा आउनु पर्छ भन्ने हिसावमा चाहिं, ओभरअल लूक्सको हिसावले आजको दिनदेखि नेपाली फिल्म क्षेत्रमा अर्को फड्को मारेको छ ।

यो एउटा उत्कृष्ट दृश्य भाषाको उदाहरण हो । नेपाली फिल्म हलिउड स्टाइलको भएन भन्ने दर्शकका लागि भने ‘चिसो एष्ट्रे’ हलिउड लेभल कै बनेको छ ।

सन्तोष पन्त 

‘चिसो एष्ट्रे’ त हलिउडको फिल्म जस्तो रहेछ । मलाई विश्वास छ युवापुस्ताले सार्है नै मन पराउनु हुनेछ । जो जो कलाकारहरुले जुन-जुन पात्र बोक्नु भएको छ । त्यसमा उहाँहरुले एकदमै न्याय गर्नु भएको छ । साइकोलोजी छ, इन्टरटेनमेन्ट छ, एक्सन छ । अहिलेको युवापुस्ताले रुचाउने खालको संगीत छ । यो ‘क्वाटी’ हो, सबै कुरा भएको ।

दिनेश पाल्पालीले निर्देशन गरेको फिल्मले राजधानी छिरेर मोर्डन बन्न खोज्ने गाउँले युवकको जीवनमा आउने उतारचढावको कथा भन्छ ।

फिल्ममा दिव्य देव, निकुन श्रेष्ठ, सुशीलराज पाण्डे, नविन लम्साल, सृष्टि श्रेष्ठ, रोविन तामाङ, एभोन जोशी, राइनेक्स बस्नेत, कृष्ण शाहीलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्