शुक्रबारदेखि गोपीकृष्णका तीन पर्दा संचालनमा आउने



रंगखबर, काठमाडौँ – कोरोना महामारीको आगमनसँगै बन्द भएको गोपीकृष्ण मुभिजका तीन वटा पर्दा शुक्रबारदेखि संचालनमा आउने भएका छन् ।

गोपिकृष्ण मुभिज प्रालिका निर्देशक निरक पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबारदेखि गोपीकृष्ण अन्तर्गतका ओम, नम: र शिवाय संचालनमा आउने जानकारी दिएका हुन् ।

कोरोना महामारी भित्रिएपछि देशभरका हलसहित गोपीकृष्ण मुभिज पनि बन्द भएको थियो । तर, लकडाउनको समयमा गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्स रुपमा विस्तार सुरु गरेपछि २ वर्ष हल बन्द भएको थियो ।

पछिल्लो समय हलसम्म दर्शक आउदै फर्किने क्रम बढेपछि गोपीकृष्ण मुभिजले तीन पर्दा संचालनमा ल्याउन लागेको विज्ञप्तिमा उल्लेख छ ।

‘नेपाली चलचित्र क्षेत्रको श्रीवृद्धिमा महत्वपूर्ण भूमिका खेल्न सफल भएको सिनेमा हल गोपिकृष्ण मुभिज प्रालि अहिले गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्सका रुपमा विस्तारित हुँदै गरेको सर्वविदितै छ, विज्ञप्तीमा भनिएको छ – ‘नेपाली फिल्म क्षेत्रका लागि महत्वपूर्ण हबको रुपमा रहेको गोपिकृष्ण मुभिजले नयाँ संरचना निर्माण थालनी गरेता पनि दर्शकहरु दैनिक रुपमा गोपिकृष्ण सिनेमा हलमा चलचित्र हेर्न आएर त्यसै फर्किनु परेको असुविधालाई मध्यनजर गर्दै गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्सको निर्माणलाई जारी राख्दै यही मिटि चैत ११ गते शुक्रवारदेखि ओम, नम: र शिवाय हललाई आवश्यक मापदण्ड पालना गरी सञ्चालनमा ल्याउने भएका छौं ।’

ओम, नम: र शिवाय हललाई रातो, हरियो र निलो रंग (आरजिबी) को थिममा सचाएर उच्च प्रविधिका संचालनमा ल्याउन लागेको उल्लेख गरिएको छ ।

कुल ५ सय सिट क्षमताका ‘आरजीबी’मा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म १२ शो देखाइने छ ।

सिमित समयका लागि ३ सय रुपैयाँ टिकट निर्धारण गरिएको हलमा शुक्रबारदेखि नेपाली फिल्म ‘चिसो एष्ट्रे’ र विदेशी फिल्म ‘आरआरआर’ र ‘द कश्मिर फाइल्स’ प्रदर्शनमा आउनेछ्न ।

प्रेस विज्ञप्ति:- 

प्रतिक्रिया दिनुहोस्