९५.१६ प्रतिशत शो ओगट्दै नेपाली बक्सअफिसमा रिलिज भयो ‘आरआरआर’



रंगखबर, काठमाडौँ – आज शुक्रबारदेखि भारतीय फिल्म ‘आरआरआर’ले नेपाली बक्सअफिसमा प्रदर्शन आरम्भ गरेको छ ।

देशैभर प्रदर्शनमा आएको फिल्मले मल्टीप्लेक्समा आफ्नो वर्चश्व जमाएको छ । यो साताका लागि छुट्याइएको १८६ शोजमा ‘आरआरआर’ले ९५.१६ प्रतिशत हिस्सा ओगटेको छ ।

यो वर्ष नेपाली बक्सअफिसमा रिलिज भएका जतिपनि फिल्मलाई उछिन्दै ‘आरआरआर’ले प्रदर्शन अगावै रेकर्ड राखेको हो ।

बक्सअफिसमा ‘आरआरआर’को आगमनसँगै प्रदर्शनरत केहि फिल्महरुको शो दयनीय बनेको छ ।

भारतमा उग्र व्यापार गरेको ‘द कश्मिर फाइल्स’ नेपाल रिलिजको दोस्रो सातामा जम्मा २.६८ प्रतिशत शोमा खुम्चिएको छ । यस्तै अक्षय कुमार स्टारर फिल्म ‘बच्चन पाण्डे’ १.०७ प्रतिशतमा झरेको छ ।

नेपाली फिल्म ‘चिसो एष्ट्रे’ र हलिउड फिल्म ‘द ब्याटम्यान’ समान ०.५३ प्रतिशतमा पुगेका छन् ।

आक्रामक बुकिङ

‘आरआरआर’ले शो मात्र धेरै पाएको छैन, उसको बुकिङपनि आक्रामक देखिएको छ । अधिकाँस शो प्रदर्शन अगाडी नै हाउसफुल बन्दा शक्रबार र शनिबारको लागि टिकट नपाउने संकेत देखिएको छ ।

फिल्मका विहानदेखि बेलुकासम्मका शो छिटो-छिटो भरिंदै गएका छन् । यो फिल्मले नेपाली बक्सअफिसमा थुप्रै नयाँ रेकर्ड बनाउने अनुमान गरिएको छ ।

एसएस राजामौली निर्देशित फिल्ममा रामचरण, जुनियर एनटिआर, आलिया भट्ट, अजय देवगणलगायतका कलाकारहरुको अभिनय छ ।

राजामौली निर्देशित ‘बाहुबली’ सिरिजले नेपाली बक्सअफिसमा थुप्रै रेकर्ड बनाएको थियो ।

(यो तथ्यांकमा क्युएफएक्स, बिग मुभिज, सिडिसी, बिएसआर, आइएनआइ लोत्से/बुटवल, किर्तिपुर सिनेप्लेक्स, क्युज सिनेमाज, वान सिनेमाज र एफक्युब हल मात्र समावेश छन्)

प्रतिक्रिया दिनुहोस्