मल्टीप्लेक्समा ‘हेल्लो जिन्दगी’लाई ७.६१ प्रतिशत शो, ‘आरआरआर’को दवदवा कायमै



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि प्रदर्शनमा आउने फिल्म ‘हेल्लो जिन्दगी’को लागि मल्टीप्लेक्समा अग्रिम खुल्ला गरिएको छ । शुक्रबार ‘हेल्लो जिन्दगी’सँगै हलिउड फिल्म ‘मोर्बियस’ले पनि नेपाली बक्सअफिसमा डेब्यु गर्दैछ ।

मध्यम हाइपका बीच रिलिज हुन लागेको ‘हेल्लो जिन्दगी’लाई कमजोर शो प्राप्त भएको छ । तर, निर्माण पक्ष आगामी दिनमा फिल्मको ‘वर्ड अफ माउथ’ले शो संख्या बढ्नेमा आशावादी रहेको छ ।

रंगखबरले तथ्यांक संकलन गरेका देशका १० मल्टीप्लेक्सले यो शुक्रबारको लागि १ सय ९७ शो निर्धारण गरेका छन् । जसमध्ये ‘हेल्लो जिन्दगी’ले ७.६१ प्रतिशत शो कब्जा गरेको छ ।

एभरेष्ट सुर्य बोहरा निर्देशित फिल्मलाई क्युएफएक्सले ६ शो दिएको छ । भने, आइएनआइ सिनेमाजले आफ्ना दुई स्टेशनमा २ शो बाँडेको छ ।

यस्तै वान सिनेमाज, बिग मुभिज, एफक्युब, सिडिसी, क्युज, बिएसआर र रन्जना सिनेप्लेक्सले समान १/१ शो निर्धारण गरेका छन् ।

सत्यकथामा आधारित भनिएको फिल्ममा विक्रम डि जोशी, प्रियंका कार्की, दीपिका प्रशाई, विल्सन विक्रम राई, विक्रान्त बस्नेत, ध्रुव दत्त, सविता गुरुङ, एभरेष्ट सुर्य बोहरालगायतका कलाकारहरुको अभिनय छ ।

‘आरआरआर’को दवदवा कायमै 

चैत ११ गते नेपाली बक्सअफिसमा रिलिज भएको साउथ इन्डियन फिल्म ‘आरआरआर’को दवदवा कायमै देखिएको छ ।

मल्टीप्लेक्समा ९५.१६ प्रतिशत शोज कब्जा गर्दै प्रदर्शन सुरु गरेको फिल्म दोस्रो सातामा केहि खस्किएको छ । तर, बाहुल्यता कायमै छ ।

दोस्रो सातामा फिल्मले  ७९.१८ प्रतिशत शो पाएको छ । जो, कुनैपनि ‘बिग फ्रेस रिलिज’ फिल्मको भन्दा बढी हो ।

दोस्रो नम्बरमा ‘मोर्बियस’

मार्बलको सुपरहिरो फिल्म ‘मोर्बियस’ले नेपाल डेब्युमा आफुलाई दोस्रो स्थानमा उभ्याएको छ । उसले १२.१८ प्रतिशत शो कब्जा गरेको छ ।

यस्तै शुक्रबारदेखि नेपालमा तेस्रो साताको प्रदर्शन तय गरेको बलिउड फिल्म ‘द कश्मिर फाइल्स’ १.०१ प्रतिशत शोमा खुम्चिएको छ ।

(यो तथ्यांकमा क्युएफएक्स, बिग मुभिज, सिडिसी, बिएसआर, आइएनआइ लोत्से/बुटवल, किर्तिपुर सिनेप्लेक्स, क्युज सिनेमाज, रन्जना सिनेप्लेक्स, वान सिनेमाज र एफक्युब हल मात्र समावेश छन्)

प्रतिक्रिया दिनुहोस्