सेलेब्रेटीहरुले ‘मन्त्र’ हेरेपछि भने, ‘देशलाई अन्तर्राष्ट्रिय मन्चमा चिनाउन मद्धत गर्छ’



रंगखबर, काठमाडौँ – अभिनेतात्रय प्रशान्त ताम्राकार, शिशिर बांग्देल र रोबिन तामाङले प्रदर्शनरत फिल्म ‘मन्त्र’ हेरेका छन् ।

आइतबार राजधानीको रन्जना सिनेप्लेक्समा आयोजित सेलेब्रेटीमा शोमा फिल्म हेरिसकेपछि तीनै जनाले प्रशंसाका शब्दहरु खर्चिए ।

विशेष गरि फिल्मको लोकेशन मन परेको प्रतिक्रिया दिए ।

‘मलाई फिल्म मन पर्यो । सम्पादन राम्रो छ । सिनहरुपनि राम्रो छ । इमोसनल बनायो मलाई । दोस्रो भागको लागि पर्खिरहेको छ ।’ फिल्म हेरेर हर्षित मुद्रामा देखिएका रोबिनले भने ।

अर्का अभिनेता शिशिर बांग्देलले ‘मन्त्र’ले देशलाई अन्तर्राष्ट्रिय मन्चमा चिनाउन भूमिका खेल्ने बताए । ‘मलाई सिनेम्याटिक लाग्यो । यसले देशलाई अन्तर्राष्ट्रिय मन्चमा चिनाउन भूमिका खेल्छ जस्तो लाग्यो । कलाकारहरुले उम्दा काम गर्नु भएको छ ।’ शिशिरले प्रशंसाका शब्द खर्चिए ।

अभिनेता प्रशान्त ताम्राकारले ‘मन्त्र’ हेरेर आफु मन्त्रमुग्ध भएको बताए । ‘मन्त्रमुग्ध नै भएको छु म । हिमालयन क्षेत्रको रहनसहन र एउटा सुन्दर प्रेमकथा भनेको छ । सौगात, दीया र बुद्धिले दर्शकलाई अन्त्यसम्म बाँध्न सक्छन । पर्यटनका हिसावले नेपाललाई अन्तर्राष्ट्रिय मन्चसम्म चिनाउन सक्छ ।’ प्रशान्तले पनि प्रशंसाका शब्द खर्चिए ।

खिलबहादुर गुरुङले निर्देशन गरेको फिल्मले मनास्लु हिमाल क्षेत्रको रहनसहन र प्रेमको कथा भन्छ ।

फिल्ममा सौगात मल्ल, बुद्धि तामाङ, दीया पुन र नमिता तामाङलगायतका कलाकारहरुको मुख्य भूमिका छ ।

साम्तेन भुटिया, परिच्छेद सेन र सुनिल नेउरेले लेखेको फिल्ममा नमिता घिसिङ र वीरबहादुर लामाले पनि अभिनय गरेका छन् ।

फिल्ममा संजय लामाको छायांकन, मित्र डी गुरुङको सम्पादन र सन्तोष सुनारको संगीत छ ।

देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको फिल्ममा विराज कार्की, सुरेश कार्की र सुभ श्रेष्ठको लगानी छ । भने, सह-निर्मातामा भिमसेन केसी र विशेष सहयोगी अमृत थापा रहेका छन्।

प्रतिक्रिया दिनुहोस्