ट्राभल रियालिटी शो ‘इम्याजिन नेपाल’ आजबाट प्रशारण हुने



रंगखबर, काठमाडौँ – ट्राभल गर्न रुचाउनेहरुका लागि प्रतिक्षित बनेको ट्राभल रियालिटी शो ‘इम्याजिन नेपाल’ बैशाख २२ गते विहिबारदेखि प्रशारणमा आउने भएको छ ।

यो शोले नेपालका कसैको नजर नपरेका भूगोल र त्यहाँको स्थितिको बारेमा जानकारी दिने आशा राखिएको छ ।

भूषण दाहाल मुख्य निर्णायक रहने यस शोमा ७ भिन्न भिडियो निर्माता/निर्देशक बीच प्रतिस्पर्धा हुनेछ । प्रत्येक निर्माताले आफ्नो टिममा रहेर प्रदेशगत रुपमा प्रतिस्पर्धा गर्नेछन ।

प्रदेश नम्बर १ को प्रतिनिधित्व टिम सहानाले गर्नेछ । मधेस प्रदेशमा टिम घुमन्ते, बागमतीबाट टिम मानसी र गण्डकी प्रदेशबाट टिम दर्शनले प्रतिस्पर्धा गर्नेछन् ।

यस्तै टिम किशोरले लुम्बिनी प्रदेशको प्रतिनिधित्व गर्दा टिम अविनले कर्णाली र टिम नेपाल फूडले सुदुरपश्चिमबाट प्रतिस्पर्धा गर्नेछन ।

सुरज सिंह ठकुरी होस्ट र प्रोडक्सन लिड रहेको शोमा प्रत्येक टिमले आफ्नो प्रतिनिधित्व प्रदेशको बारेमा उत्कृष्ट वृतचित्र (डकुमेन्ट्री) बनाउने छन् ।

यात्राका रोमाञ्चक कथाहरु प्रस्तुत गरिने ‘इम्याजिन नेपाल’का १६ एपिसोड प्रशारणमा आउनेछन । कान्तिपुर टेलिभिजनमा राति ९ बजे र इम्याजिन नेपालको युट्युब च्यानलमा राति १० बजे प्रत्येक एपिसोड प्रशारण हुनेछन ।

सन् २०१६ देखी इम्याजिन नेपाल हरेक वर्ष प्रभावशाली व्यक्तित्वहरूलाई लिएर देशभरिका अदभूत रमणीय ठाउँहरूमा पुगिरहेको र डिजिटल माध्यमबाट आफ्ना अनुभवहरू प्रस्तुत गरिरहेको छ । यस वर्ष भने महिन्द्रा राइजको प्रस्तुतिमा इम्याजिन नेपालले एक रियालिटी शोको ढाँचा लिएको हो ।

प्रतिक्रिया दिनुहोस्