‘षट्कोण’ र ‘लक्का जवान’को प्रदर्शन आरम्भ



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि दुई नेपाली फिल्म ‘षट्कोण’ र ‘लक्का जवान’ सार्वजनिक प्रदर्शनमा आएका छन् ।

यी दुई फिल्मसँगै हलिउडको सुपरहिरो फिल्म ‘डक्टर स्ट्रेन्ज इन द मल्टिभर्स अफ म्याडनेस’ले पनि नेपाल प्रदर्शन सुरु गरेको छ ।

कर्मा, भोलाराज सापकोटा, लोकेन्द्र लेखक, सुयशा अधिकारी, विराज कडरिया, शिशिर लिम्बु वानेम जस्ता कलाकारहरुको अभिनय रहेको फिल्म ‘षट्कोण’लाई मिलन डि काप्रीले निर्देशन गरेका हुन् । उनको यो डेब्यु निर्देशन हो ।

साइकोलोजिकल थ्रिलर फिल्ममा कर्माले हत्या अनुसन्धान गरिरहेको एक पत्रकारको भूमिका निर्वाह गरेका छन् । अनुसन्धानका क्रममा पत्रकारले साइकोलोजिकल रुपमा भोग्ने उतारचढाव नै फिल्मको मूल कथा हो ।

फिल्मले मल्टीप्लेक्समा कमजोर शो पाएको छ । हलिउड फिल्म ‘डक्टर स्ट्रेन्ज’को दवदवाले दुवै नेपाली फिल्मलाई असर पुर्याएको छ ।

उता शिवहरि पौड्यालको डेब्यु निर्देशनमा बनेको ‘लक्का जवान’ले पनि न्यून शो पाएको छ । चर्चित कलाकारहरुको अभिनय रहेको कमेडी ड्रामा कोरोनाका कारण समयमै रिलिज हुन् पाएको थिएन ।

फिल्ममा मदनकृष्ण श्रेष्ठ, सरोज खनाल, किरण केसी, सुशील पोखरेल, शिवहरी पौड्याल, राजाराम पौडेल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, स्वर्गीय जयनन्द लामा, सुरेन्द्र केसीलगायतका कलाकारहरुको अभिनय छ ।

‘डक्टर स्ट्रेन्ज’ले भने साउथ फिल्म ‘केजिएफ: च्याप्टर २’को दवदवालाई चिर्दै मल्टीप्लेक्समा आफ्नो दवदवा कायम गरेको छ ।

मार्भल सिनेम्याटिक युनिभर्सको यो फिल्ममा बेनेडिक्ट कम्बरब्याच, एलिजाबेथ ओल्सन र चिवेटेल इजोफोरको मुख्य भूमिका छ ।

प्रतिक्रिया दिनुहोस्