हिन्दि बक्सअफिस मै कमजोर बलिउड, चार महिनामा एउटा फिल्म सफल



रंगखबर, काठमाडौँ – कोरोना महामारी यता भारतीय बक्सअफिसमा दक्षिण भारतीय फिल्मको दवदवा बढ्दो छ ।

साना हुन् या ठुला बजेटका फिल्म, एकाध छोडेर सफल फिल्मको सुची पहिलो ४ महिना मै लामो भैसकेको छ । तर, २०२२ को चार महिना बित्दा बलिउडको एक मात्र फिल्मले सफलताको झण्डा गाडेको छ ।

टाइगर श्रोफको ‘हिरोपन्ती २’, अजय देवगणको ‘रनवे ३४’, शाहिद कपूरको ‘जर्सी’ जोन अब्राहमको ‘अट्याक’ र अक्षय कुमारको ‘बच्चन पाण्डे’ पछिल्लो दुई महिनामा फ्लप भएका फिल्म हुन् ।

२० करोडको न्यून बजेटमा निर्माण भएको ‘द कश्मिर फाइल्स’ले २५२ करोड कमाई गर्दै एक मात्र सफल फिल्म बनेर बलिउडको जग धानिरहेको छ ।

यस्तै आलिया भट्ट स्टारर ‘गंगुबाई काठियावाडी’ले १२९ करोडको व्यापार गरेपनि ठुलो बजेटका कारण आफुलाई हिटको सुचीमा पार्न सकेन ।

अमिताभ बच्चनको ‘झुण्ड’ र राजकुमार रावको ‘बधाई दो’ले पनि बक्सअफिसमा हावा खाए ।

बलिउड बक्सअफिसमा हिन्दि डबको दवदवा

पछिल्लो समय दक्षिण भारतमा बन्ने अधिकांस फिल्म पुरै देश लक्षित गर्दै रिलिज भैरहेका छन् । हिन्दि डबमा पनि साउथ फिल्म रिलिज हुन् थालेपछि बलिउड बक्सअफिसमापनि दवदवा बढेको छ ।

कन्नड फिल्म ‘केजीएफ: च्याप्टर २’ र तेलुगु फिल्म ‘आरआरआर’ले हिन्दि भाषामा मात्रै क्रमस… ४२० र २६१ करोडको व्यापार गरिसकेका छन् ।

यी कलेक्सन कुनै पनि हिन्दि भाषाले यो वर्ष कमाएको सर्वाधिक रकम हो ।

दक्षिण भारतका मुख्य चार फिल्म उद्योग कन्नड, तेलुगु, तामिल र मलायलम यो वर्ष दर्जन बढी सफल फिल्म दिइसकेका छन् ।

यसै शुकबार रिलिज भएको बलिउड फिल्म ‘जयेस भाई जोरदार’लेसमेत कमजोर ओपनिङ गरेको छ । रणवीर सिंह स्टारर फिल्मले पहिलो दिन ३.२५ करोडको व्यापार गर्दा तेलुगु फिल्म ‘सरकारु वारी पट्टा’ले ४७ करोडको ओपनिङ गरेको छ ।

यो साता पंजावी र मराठी फिल्मले बलिउड फिल्म ‘जयेस भाई जोरदार’ बराबरको ओपनिङ गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्