मल्टिप्लेक्समा ‘कबड्डी ४’को बुकिङ खुल्यो, रिलिज अगावै रेकर्ड



रंगखबर, काठमाडौँ – शुक्रबारबाट प्रदर्शन हुने फिल्म ‘कबड्डी ४’ले रिलिज अगावै रेकर्ड राखेको छ ।

रामबाबु गुरुङ निर्देशित फिल्मले मल्टिप्लेक्समा अहिलेसम्म कै सर्वाधिक शो पाएर रेकर्ड राखेको छ । दयाहाङ राई केन्द्रिय भूमिकामा रहेको फिल्मलाई सोमबार बाटै बुकिङ खुल्ला गराइएको छ ।

देशका ठुला मल्टिप्लेक्समा फिल्मले ८८.७५ प्रतिशत शो कब्जा गरेको छ । प्रतिशतका आधारमा यो संख्या ‘आरआरआर’को भन्दा ४.४१ प्रतिशतले कम हो । भने ‘केजिएफ: च्याप्टर २’को भन्दा १२.६ प्रतिशत बढी हो ।

नेपाली फिल्मको सन्दर्भमा ‘कबड्डी ४’ले पाएको शो प्रतिशतमा सर्वाधिक हो ।

यस्तै फिल्मले मल्टिप्लेक्समा २ सय १३ शो पाएको छ । जुन कुनै पनि फिल्मले नेपाली मल्टिप्लेक्समा पाएको सर्वाधिक शोज हो ।

गत महिना रिलिज भएको ‘केजिएफ २’ले मल्टिप्लेक्स तर्फ पाएको २०० शोजको रेकर्ड ‘कबड्डी ४’ले तोड्न सफल भएको हो ।

फिल्मलाई क्युएफएक्सले ८८ शो दिएको छ । जो कुनै पनि नेपाली फिल्मले पाएको सर्वाधिक शोज हो । यो चेनमा ‘केजिएफ २’ले ९३ शो पाएको थियो ।

क्युएफएक्स बाहेकका अन्य मल्टिप्लेक्सले पनि फिल्मलाई ८० देखि शतप्रतिशतसम्म शो उपलब्ध गराएका छन् ।

कमेडी जनराको यस फिल्ममा दयाहाङसँगै सौगात मल्ल, मिरुना मगर, गौमाया गुरुङ, बुद्धि तामाङ, कमलमणि नेपाल, विजय बराल, पुस्कर गुरुङ, कविता आले, माओत्से गुरुङलगायतका कलाकारहरुको अभिनय छ ।

विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार र मणिराम पोखरेलले लगानी गरेको फिल्मले वर्ष कै ठुलो ओपनिङ गर्ने अनुमान गरिएको छ ।

(यो तथ्यांकमा क्युएफएक्स, बिग मुभिज, सिडिसी, बिएसआर, आइएनआइ लोत्से/बुटवल, किर्तिपुर सिनेप्लेक्स, क्युज सिनेमाज, रन्जना सिनेप्लेक्स, वान सिनेमाज बानेश्वर/कालिमाटी, सिनेप्लेक्स पोखरा/चितवन र एफक्युब हल मात्र समावेश छन्)

प्रतिक्रिया दिनुहोस्