दीया पुनले टेकिन विश्वको सर्वोच्च शिखर



रंगखबर, काठमाडौँ – अभिनेत्री दीया पुनले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेकी छन् ।

शुक्रबार बिहान उनले किर्तिमानी आरोही निर्मल पूर्जासहित २० जनाको टिमसँग ८,८४८.८६ को चुचुरो चुमेकी हुन् । एलिट एक्सपिडिसन मार्फत निर्मलले यो टिमको नेतृत्व गरेका थिए ।

सगरमाथा आरोहणपछि २० जनाको टिम साउथ कोलमा पुगेर विश्राम लिएको थियो । क्याम्प २ बाट हिँडेको सम्पूर्ण टोली चुचुरोमा पुग्न सफल भएको भन्दै आरोही पूर्जाले खुसि व्यक्त गरेका छन् ।

अभिनेत्री दीयाको यो दोस्रो ८ हजार मिटर माथिको चढाई हो । यसअघि उनले ‘१४ पिक्स’ अन्तर्गतको मनास्लु हिमाल (८,१६३ मि) आरोहण गरिसकेकी छन् ।

यस्तै उनको लागि ‘७ समिट’ अन्तर्गत सगरमाथा दोस्रो आरोहण हो । उनले साउथ अमेरिकाको सबैभन्दा अग्लो हिमाल अकोंकागुवा (६,९६१ मि)को सफल आरोहण गरिसकेकी छन् ।

यसअघि अभिनेत्री निशा अधिकारीले पनि सगरमाथाको सफल आरोहण गरिसकेकी थिइन् । भने यसै महिना गायक राजु लामाले विश्वको सर्वोच्च शिखर चुम्न सफल भएका थिए ।

प्रतिक्रिया दिनुहोस्