मनिष राउतले ‘शमशेर’ निर्देशन गर्ने



रंगखबर, काठमाडौँ – ‘प्रेमगीत ३’ डेब्यु अभिनेता मनिष राउत अब निर्देशक बन्ने भएका छन् । उनले एभरेष्ट फिल्म एकेडेमी र डीआर डेनिमले निर्माण गर्ने फिल्म ‘शमशेर’बाट निर्देशकीय यात्रा सुरु गर्न लागेका हुन् ।

मनिषले ‘शमशेर’को स्क्रिप्ट मन परेकाले निर्देशनमा डेब्यु गर्न लागेको बताएका छन् । साथै, अब अभिनय र निर्देशकीय यात्रालाई सन्तुलनमा अगाडी बढाउने उनले जानकारी दिए ।

ओस्कार कलेजबाट फिल्म निर्माणमा ब्याचलरसम्मको पढाई पुरा गरेका राउतले हाल एभरेस्ट फिल्म एकेडेमीमा प्रशिक्षक भूमिका निर्वाह गरिरहेका छन् ।

फिल्ममा मनिषले अभिनयमा पनि मुख्य भूमिका निर्वाह गर्नेछन् । उनका अलावा फिल्ममा सुनिल थापा, गौरव पहारी, हिमेश पन्त, सुमन गौतम, दिपक कोइराला, सुमन थापा, सबिन शाक्य, रुपेश कार्की, रुपेश लामा, आशिस पराजुली कलाकारको रुपमा फाइनल भएका छन् ।

एक्सन जनरामा निर्माण हुने फिल्ममा अभिनेत्रीको भने टुंगो लागेको छैन । अभिनेत्री तय भएसंगै फिल्म छायांकनमा निस्किनेछ । यो फिल्म युएईको दुबई र नेपालको काठमाडौँ, सोलुखुम्बु र ढोरपाटनमा खिचिनेछ ।

सीबड्र्स इन्टरटेनमेन्ट र धिरज प्रोडक्सनको सहकार्य रहने फिल्ममा अर्जुन पोखरेलले संगीत दिनेछन ।

प्रतिक्रिया दिनुहोस्