‘सम्हालिन्छ कहिले मन’को पूजा र सोनम फिचर्ड गीत रिलिज



रंगखबर, काठमाडौँ – आकाश श्रेष्ठ र पूजा शर्मा स्टारर फिल्म ‘सम्हालिन्छ कहिले मन’को गीत सार्वजनिक गरिएको छ ।

शुक्रबार राजधानीमा एक प्रेसमिटको आयोजना गर्दै निर्माण पक्षले फिल्मको पहिलो गीत सार्वजनिक गरेको हो ।

‘जरुरी कुरा छ’ बोलको गीतमा पूजा शर्मा र डेब्यु अनुहार सोनम तोप्देन रोमान्टिक अन्दाजमा प्रस्तुत भएका छन् । विदेशी भूमिमा छायांकन गरिएको गीतका दृश्य मन लोभ्याउने खालका छन् ।

सार्वजनिक गीतमा अर्जुन पोखरेलको संगीत, सुरेश वाग्लेको शब्द रचना र अन्जु पन्त/सुरेश लामाको स्वर छ । गीतको भिडियो कोरियोग्राफी कविराज गहतराजले गरेका छन् ।

सुदर्शन थापाको निर्देशनमा तयार फिल्ममा पूजा, आकाश र सोनमसंगै सरोज खनाल, धिरेन शाक्य, गौरी मल्ललगायतका कलाकारहरुको अभिनय छ ।

अमित बस्नेत, अजित केआर थापा र परी रानाले निर्माण गरेको फिल्ममा अर्जुन पोखरेल/ताराप्रकाश लिम्बु/जेम्स प्रधानको संगीत, सौरभ लामाको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

यो फिल्म भदौ १७ देखि अलनेपाल प्रदर्शनमा आउदैछ ।

प्रतिक्रिया दिनुहोस्