सात महिना भित्र सौगातका ७ फिल्म



रंगखबर, काठमाडौँ – वर्ष २०७९ अभिनेता सौगात मल्लको लागि विशेष हुनेछ । कार्तिकसम्म नेपाली फिल्मले रिलिज डेट तोक्दा सौगातका मात्रै ७ ओटा रिलिज हुने भएका छन् ।

बैशाख, जेठ र असारमा मात्रै सौगातका तीन फिल्म प्रदर्शनमा आइसकेका छन् । बैशाखमा रिलिज ‘मन्त्र’ बक्सअफिसमा फ्लप भएपनि जेठमा रिलिज ‘कबड्डी ४’ले ऐतिहासिक व्यापार गर्न सफल भयो ।

असार १० देखि प्रदर्शनमा आएको ‘घनचक्कर’को बक्सअफिस नतिजाको लागि कम्तिमा सातासम्म कुर्नु पर्ने हुन्छ ।

साउन महिनामा अहिलेसम्म सौगातका कुनै पनि फिल्मले रिलिज डेट तोकेका छैनन् । तर, भदौ भने उनका फिल्मको बाढी नै आउने देखिएको छ ।

भदौ ३ मा सौगातको ‘माइकल अधिकारी’ रिलिज हुनेछ । यो फिल्म रिलिज भएको एक साता भित्रै ‘द सिक्रेट अफ: राधा’ बक्सअफिसमा उत्रिनेछ । नारीप्रधान ‘राधा’मा सौगातले अभिनय मात्र गरेका छैनन् । उनको लगानी पनि छ ।

भदौ अन्तिम अर्थात ३१ गते सौगातको ‘लाखे’ प्रदर्शनमा आउनेछ । मल्टिस्टारर फिल्ममा सौगात मुख्य भूमिकामा छन् ।

असोजमा अहिलेसम्म सौगातका कुनै फिल्म छैनन् । तर, कार्तिक ४ मा भने ‘दुई नम्बरी’ प्रदर्शनमा आउनेछ ।

यसरी हेर्दा रिलिज डेट परिवर्तन नभएको खण्डमा ७ महिना भित्र सौगातका ७ फिल्म प्रदर्शनमा आउनेछन । बाँकी, ५ महिनाको अवधिमा सौगात अभिनित कुनै पनि फिल्म रिलिज भएमा संख्या अझै बढ्नेछ ।

रिलिजको आधारमा सौगातका लागि यो वर्ष विशेष रहेपनि कति फिल्मले बक्सअफिस सफलता पाउने छन् ? पर्खिनुको विकल्प छैन ।

प्रतिक्रिया दिनुहोस्