भदौमा रिलिज तोक्दै ‘गोर्खा: बिनिथ द ब्रेभरी’को ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ – भदौ २४ लाई प्रदर्शन मिति तय गर्दै फिल्म ‘गोर्खा: बिनिथ द ब्रेभरी’को ट्रेलर सार्वजनिक गरिएको छ ।

प्रदीप शाहीले निर्देशन गरेको फिल्मले गोर्खाको लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथा पेश गर्छ ।

ट्रेलरले कुलवीरले जर्मनसंगको युद्धमा देखाएको बहादुरी प्रस्तुत गर्छ ।

निर्देशक शाही कै कथा रहेको फिल्ममा मिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतका कलाकारहरुको अभिनय छ ।

शाइ प्रोडक्सनको व्यानरमा निर्माण भएको फिल्ममा ननिक्को प्रताप गुरुङ/अमृत गुरुङको छायांकन, विश्व शाहीको संगीत, एरमान जम्बकको भिएफएक्स र रुपेश गुरुङको सम्पादन छ ।

नेपाल अगाडी बेलायत, अमेरिका, ब्रुनाई, सिंगापुर र अस्ट्रेलियामा स्क्रिनिङ हुने फिल्ममा मधु गुरुङ र प्रयास गुरुङले लगानी गरेका छन् । फिल्मका कार्यकारी निर्माता विनोद सुवेदी खत्री हुन् ।

कुलवीरको वीरता 

सन् १९१५, २५ सेप्टेम्बरमा ब्रिटिश सेनाहरूले लुस, फ्रान्समा ठूलो आक्रमण गरेका थिए । उक्त युद्धमा दोस्रो बटालियन, थर्ड क्वीनअलेक्जान्ड्राको आफ्नै गोर्खा राइफल्सका २६ वर्षीय राइफलम्यान कुलवीर थापा गम्भीर घाइते बनेका थिए । तर, उनी बाँच्न सफल भए ।

घाइते भएको भोलीपल्टै अर्थात् २६ सेप्टेम्बरदेखि थापा पीडितहरुको उद्दारमा खटिए । यही घटनापछि उनलाई गोर्खाहरूका लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त भयो । उनै कुलवीर थापाको कथालाई फिल्ममा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्