पुष अन्तिममा सारा र प्रितमराजको ‘गुञ्जन’ रिलिज हुने



रंगखबर, काठमाडौँ – कोरोना काल अगाडी छायांकन भएको फिल्म ‘गुञ्जन’को रिलिज डेट घोषणा भएको छ ।

अष्ट महर्जनको निर्देशनमा बनेको फिल्म पुष २९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउनेछ । विगत दुई दशकदेखि नेपाली फिल्ममा द्वन्द्व निर्देशकको रुपमा आफुलाई प्रमाणित गरिसकेका अष्टको यो डेब्यु फिल्म हो ।

मंगलबार फिल्म निर्माण कम्पनि र वितरण कम्पनि बीच पुष २९ मा फिल्म रिलिज गर्ने सहमति जुटेको हो । मोफसलमा एफडी र काठमाडौँ उपत्यकामा जिजिए ग्रुप/डिसिएनले फिल्म वितरण गर्नेछन ।

प्रेमकथामा आधारित फिल्ममा सारा सिरपाली, प्रितमराज सेन्चुरी, सरोज खनाल, हिउँवाला गौतम, कबीर खड्का, रोहन शाही, निरुता स्याङताङलगायतको अभिनय छ । प्रितमराजको यो डेब्यु फिल्म हो ।

काठमाडौँ, कास्की र मुस्ताङ जिल्लामा छायांकन भएको फिल्ममा राजु श्रेष्ठको छायांकन, कल्याण सिंह/अर्जुन पोखरेल/करणराज कार्कीको संगीत र विपिन मल्लको सम्पादन छ ।

ए.एच इन्टरटेनमेन्टको व्यानरमा निर्मित फिल्मका प्रस्तुतकर्ता हिराकृष्ण शाही हुन् । सुनिता शाहीले फिल्ममा लगानी गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्