बिजुली र हल नभएको जुम्लाको तिर्खु गाउँमा ‘प्रकाश’को प्रिमियर सम्पन्न



रंगखबर, काठमाडौँ – प्रदीप खड्का स्टारर फिल्म ‘प्रकाश’को जुम्लामा वर्ल्ड प्रिमियर सम्पन्न भएको छ । पातारासी गाउँपालिकाको तिर्खु गाउँस्थित ऋणमोक्ष माध्यमिक विद्यालयको प्रांगणमा सम्पन्न प्रिमियरमा स्थानीयले फिल्म हेरे ।

फिल्मका मुख्य कलाकार प्रदीप र लेखक बिकास सुवेदी गाउँ पुग्दा स्थानीयले झाँकीसहितको स्वागत गरेका थिए । प्राय: शहरका सुबिधा सम्पन्न हलमा रेड कार्पेट बिछ्याएर गरिने प्रिमियर ‘प्रकाश’को हकमा भने भिन्न रह्यो ।

विद्यालयको प्रांगणमा जेनेरेटर जोडेर प्रोजेक्टरबाट फिल्म देखाइएको थियो । प्रदीपले पनि स्थानीयसंगै भुइँमा बसेर फिल्मको मज्जा लिए । यो त्यहि गाउँ हो जहाँ ४५ दिन लगाएर ‘प्रकाश’को छायांकन गरिएको थियो ।

प्रदीप र बिकासलाई स्थानीय बासिले गरेको स्वागत हेर्न लायक थियो । स्थानीय संस्कार अनुसार जुम्लेली समुदायले प्रदीप र बिकासको गलामा माला, निधारमा अबिर र शीरमा फेदा लगाइदिएका थिए ।

प्रिमियरपछि स्थानीयले फिल्मको बारेमा सकारात्मक प्रतिक्रिया दिए ।

जुम्लालाई टपक्क टिपेर फिल्ममा उतारेको, फिल्म हेर्दा आफ्नै आमा-बुबा, छोराछोरीलाई पर्दामा महसुस गरेको र प्रदीपलाई आफ्नै छोरा जस्तो देखेको स्थानीयले प्रतिक्रिया दिए ।

जुम्लामा आफुले धेरै माया पाएको र ‘प्रकाश’ चरित्रमा आफ्नो छोरालाई देखे भन्ने खालका प्रतिक्रियाले आफ्नो कामले सार्थकता पाएको प्रदीपले बताए । ‘उहाँहरुले फिल्ममा अपनत्व महसुस गर्नु भयो । एक हदसम्म हामि सफल भयौँ ।’ प्रदीपले उत्साहित हुँदै भने ।

लेखक सुवेदीपनि स्थानीय प्रतिक्रियाले दंग थिए । ‘मैले जुन किसिमले कथा लेखेको थिएँ । स्थानीयले पनि त्यहि अनुरुप प्रतिक्रिया दिनु भयो । फिल्मलाई लिएर उत्साहित छु ।’ सुवेदीले भने ।

‘प्रकाश’ हेरेपछि स्थानीयले फिल्म एकदमै राम्रो बनेको र एक पटक जुम्लाको कथा हेरिदिन आग्रह गरे ।

दिनेश राउत निर्देशित फिल्मले एक विपन्न परिवारको युवकले शिक्षक बन्न गरेको संघर्षको कथा पेस गर्छ ।

फिल्ममा प्रदीपसंगै दीया मास्के, रेनु योगी, प्रकाश घिमिरे, निरज पन्थी, गोविन्द सुनुवार, रामबाबु रेग्मी, लोकेन्द्र लेखक, दिपेन्द्र शाहीलगायतका कलाकारको अभिनय छ ।

भदौ १० देखि सार्वजनिक प्रदर्शनमा आउने फिल्ममा राजेश श्रेष्ठको छायांकन, सुवास भुषाल/दीपक शर्मा/ताराप्रकाश लिम्बु/एलिस कार्कीको संगीत र जीवन थापाको सम्पादन छ ।

यो फिल्मलाई महेन्द्र अधिकारीले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्