भदौ १५ देखि ओजस थियटरमा नाटक ‘असुर’ मन्चन हुने



रंगखबर, काठमाडौँ – भदौ १५ देखि ओजस थियटरमा नाटक ‘असुर’ मन्चन हुने भएको छ । विवेक न्यौपाने (घने) निर्देशित नाटकका लेखक रविन दोङ हुन् ।

निर्देशक न्यौपानेका अनुसार ‘असुर’ले शक्ति प्राप्तको लागि भोको व्यक्तिको कथा भन्छ । ‘असुर एउटा गाउँको पारिवारीक कथा हो । यो कथामा एकै परिवारका दुई पिँढीको विचार मिल्दैन । कोही पुरानो व्यवस्थाको प्रतिनिधित्व गर्छन् त कोही नयाँको । यिनीहरूको शक्ति संघर्ष बीचमा जो पर्छ, उ बर्बाद हुन्छ ।’ न्यौपानेले भने ।

‘असुर’को प्रसंग हिन्दु धर्मसंग मिल्न जान्छ । असुर एउटा शक्ति भोको पात्र हो । जो शक्ति प्राप्तिका लागी जे पनि गर्न सक्छ । कहिले देवता जस्तो त कहिले दानव जस्तो रुप लिन सक्छ । के हाम्रो घर समाजमा पनि यस्ता पात्रहरु छन् ? जसको शक्ति लालचले गर्दा राजनीतिक परिवर्तनहरू आम मान्छेको दैनिकीमा रुपान्तरण हुन सकेको छैन । यिनै प्रश्न हामीले यो नाटक मार्फत केलाउने प्रयास गरेका छौँ ।’ न्यौपानेले कथासार प्रष्ट्याए ।

नाटककार दोङ क्रान्तिको नाममा जनताले भोगेको सास्तीलाई नै ‘असुर’को मुख्य अभिप्राय मान्छन । ‘वि.सं. २०५८ देखि ०६२/०६३ सम्मको देशको परिवेशलाई असुरले ऐनाले जस्तै देखाउने चेष्टा गरिएको छ । ध्वनी संयोजन, प्रकाश, संगित संयोजन आदिले नाटकलाई सुनमा सुगन्ध थपेको छ । असली उत्पिडन र दमन बिरुद्धको सिद्धान्तमा हिड्ने व्यक्तिहरुलाई अवसरवादीहरुले ओझेलमा पारेको सन्दर्भलाई प्रष्ट पार्न खोजिएको छ । नाटकले उत्पिडित वर्गको पिडाहरुलाई देखाउन खोजेको छ । क्रान्तिको नाममा आम जनताले भोगेको सास्ती नै असुर नाटकको मुख्य अभिप्राय हो ।’ लेखक दोङले भने ।

असोज ८ सम्म ओजस थियटरमा मन्चन हुने नाटकमा केन्द्रिय कलाकार सुचित्रा उप्रेतीले ‘कलावती’, सागर कार्कीले ‘नरेन्द्र’ र प्रल्हाद खरेलले ‘जुद्ध प्रसाद’को चरित्र बाँचेका छन् ।

राजन कार्की र शंकर कार्कीको निर्माण रहेको नाटकमा केशव सिंह ठगुन्ना, प्रतिक दुलाल, नमस्ते दिवाकर घिमिरे, सोफिया बज्रचार्य, विजय सापकोटा, सन्तोषी पौडेल, उज्ज्वलराज ढकाल, श्याम कार्की, बिरेन्द्र सिंह कुसवाहा, अश्मिता ढकाल, शेखर दाहाल, गंगा मगर, विशाल परियार, लक्ष्मी राई, अनिल गुरुङ, ओसन कार्की, प्रशंशा गहतराज र शुक्रराज मगरको अभिनय छ ।

चेतना सापकोटा कार्कीको सहनिर्माण रहेको नाटकका कास्टिङ डिरेक्टर सुरेन्द्र क्षेत्री हुन् । भेषभुषामा निशा गिरी, गंगा मगर र अश्मिता ढकालले काम गरेका छन् ।

नाटकमा बिवेक न्यौपानेले ध्वनि सम्पादन, उदिप सिवाकोटीले प्रकाश परिकल्पना, रविन दोङले मन्च परिकल्पना, सुरेन्द्र क्षेत्री/शेखर दाहालले मन्च व्यवस्थापन काम गरेका छन् ।

काठमाडौँ महानगर वडा नम्बर ९ स्थित रातोपुलमा संचालित ओजस थियटर एण्ड फिल्म स्टुडियो प्रारम्भकालमा ओजस फिल्म स्टुडियोको रुपमा परिचित थियो । २०७० सालमा स्थापित स्टुडियोलाई २०७८ सालमा परिमार्जित गरि थियटरको स्वरुप प्रदान गरिएको हो ।

रंगमन्च र कलाकारिता क्षेत्रमा इच्छुकले यस संस्थाबाट प्रशिक्षण लिन सक्नेछन् । ‘पिंजडा’, ‘जालो’, र ‘म जोकर बन्छु’ जस्ता नाटक मन्चन गरिसकेको ओजस थियटरले सार्वजनिक स्थलमा निःशुल्क रुपमा नाटक, कचहरी नाटक, सडक नाटक र जनचासो र गुनासाका कार्यक्रमहरुपनि संचालन गर्दै आइरहेको छ ।

नेपालको संस्कृति प्रवर्धन गर्नु र कलाको माध्यमबाट नेपालीहरुलाई जोड्नु थियटर मुख्य उद्येश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्