वीरता र सपनाको कथा भन्ने दुई फिल्म प्रदर्शनमा



रंगखबर, काठमाडौँ – आज शुक्रबारदेखि दुई नेपाली फिल्म ‘ऐना झ्यालको पुतली’ र ‘गोर्खा: बिनिथ द ब्रेभरी’ सार्वजनिक प्रदर्शनमा आएका छन् ।

सुजित बिडारी निर्देशित ‘ऐना झ्यालको पुतली’ले बाल सपनाको कथा भन्छ । यस्तै प्रदीप शाही निर्देशित ‘गोर्खा: बिनिथ द ब्रेभरी’ले वीरताको कथा भन्छ ।

रिलिज अगाडी दुवै फिल्मको प्रचार सुन्य थियो । ‘ऐना झ्यालको पुतली’ले भने बिभिन्न देशका फिल्म फेस्टिभलमा उपस्थिति जनाएर चर्चा कमाएको छ ।

१३ वर्षीया किशोरीको सहरमा गएर पढ्ने सपना विषयलाई उठान गरेको ‘ऐना झ्यालको पुतली’ले प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया प्राप्त गरेको थियो । यो फिल्म १ घण्टा २८ मिनेट लामो छ ।

फिल्ममा सिरु बिष्ट, कञ्चन चिमरिया, दिनेश खत्री, राज थापा, बिशा चामलिङ राई, उमेश श्रेष्ठ, मल्लिका श्रेष्ठ आदि कलाकारको अभिनय रहेको छ । सिरु बिष्टबाहेक फिल्मका अधिकांश कलाकार नयाँ हुन् ।

यस्तै गोर्खाको लागि पहिलो पटक भिक्टोरिया क्रस प्राप्त गर्ने कुलवीर थापाको वास्तविक कथा पेश गर्ने ‘गोर्खा: बिनिथ द ब्रेभरी’मा मिर गुरुङ, गौमाया गुरुङ, स्टुअर्ट वाल्कर, एगिस्टिनो ओबरहोफर, ओली बस्सी, रोबिन फ्रिबर्ग, राजान गुरुङ, सूर्य गुरुङ, स्योन शाहीलगायतका कलाकारहरुको अभिनय छ ।

फिल्मको लम्बाई १ घण्टा १२ मिनेटको छ ।

यी दुई फिल्मसंगै शुक्रबारदेखि बलिउडको ‘ब्रमास्त्र’ र तेलुगु फिल्म ‘सीता रामम’को हिन्दि भर्सनपनि नेपाली बक्सअफिसमा प्रदर्शनमा आएका छन् ।

प्रतिक्षित ‘ब्रमास्त्र’ले नेपालका अधिकांस हल र शोज कब्जा गरेको छ । प्राप्त शोजमा फिल्मको बुकिङ आक्रामक छ ।

प्रतिक्रिया दिनुहोस्