नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीबीच सम्झौता: मास्टर्स पढ्नलाई अमेरिकामा छात्रवृत्ति



रंगखबर, काठमाडौँ: नेपाल फिल्म क्याम्पस र अमेरिकाको न्युयोर्क फिल्म एकेडेमीबीच फिल्म निर्माण र ज्ञान आदानप्रदान गर्ने सम्बन्धमा विविध बुँदामा सम्झौता भएको छ । शुक्रबार क्याम्पस प्रमुख शिशिर उप्रेतीले त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवप्रसाल भुसालको उपस्थितिमा एकेडेमीका सभापति माइकल योङ र उपसभापति जिम मिलर र आफूले सम्झौता गरेको जानकारी गराएका हुन् ।
फिल्म कलेजमा अध्ययन गर्ने विद्यार्थीको अन्तर्राष्ट्रिय पहुँच अभिवृद्धि गर्ने उद्देश्यका साथ अमेरिकाको चर्चित फिल्म कलेजसँग आफूहरूले सम्झौता गरेको क्याम्पस प्रमुख शिशिर उप्रेतीले पत्रकार सम्मेलनमा जानकारी गराए ।
‘सिनेमा स्थानीय उत्पादन र उपभोगको विषय मात्र रहेन । हाम्रा विद्यार्थीहरूले पनि अमेरिका र युरोपका विद्यार्थीसँग सृजनात्मक र प्राविधिक दुवै हिसाबले प्रतिस्पर्धा गर्न सकुन् भन्ने उद्देश्यले हामीले यो पहल थालेका हौँ,’ क्याम्पस प्रमुख उप्रेतीले भने ।
दुवै फिल्म पढाउने संस्थाबीच भएको सम्झौताअनुसार आउँदो वर्षदेखि दुवै क्याम्पसले विद्यार्थीहरू आदान प्रदान गर्नेछन् । यसरी आउने÷जाने विद्यार्थीहरू १ महिना, ३ महिना र ६ महिनासम्मका लागि आउन÷जान सक्ने कार्यक्रममा जानकारी गराइयो । नेपालबाट जाने विद्यार्थीहरू न्युयोर्क एकेडेमी रहेका न्युयोर्क, लसएञ्जल्स र सिकागोमा रहेका एकेडेमीमा जानेछन् । अमेरिकाबाट पनि यिनै ठाउँका विद्यार्थी नेपाल आउन सक्नेछन् ।
नेपाल फिल्म क्याम्पसमा ब्याचलर सकेपछि मास्टर्स गर्न जाने विद्यार्थीले न्युयोर्क एकेडेमीमा पूर्णदेखि आंशिक छात्रवृत्तिसम्ममा पढ्न पाउने पनि सम्झौता भएको कार्यक्रममा जनाइएको थियो ।
विद्यार्थी आदान प्रदानबाहेक नेपाली विद्यार्थीको सीप तथा क्षमता अभिवृद्धिका लागि सिनेमाका विविध विषयमा कार्यशाला तथा मास्टरक्लासको आयोजना हुने पनि सम्झौतामा उल्लेख छ ।
यसैगरी नेपाल फिल्म क्याम्पस र न्युयोर्क फिल्म एकेडेमीका ब्याचलर चौथो वर्षका विद्यार्थीको संयुक्त प्रयासमा नेपालका हिमाल, पहाड, तराईमा रहेका कथाको उत्खनन् गर्ने र तिनलाई दृश्यमा जिवन्त बनाउने ‘कथा यात्रा’को आयोजना गरिने पनि कार्यक्रममा जानकारी दिइयो ।
क्याम्पस प्रमुख शिशिर उप्रेतीले न्युयोर्क फिल्म एकेडेमीले फिल्म निर्माणमा चाहिने उपकरण सित्तैमा दिने वाचा गरेको र भविष्यमा स्नाताकोत्तर तहको पाठ्यक्रम निर्माणमा पनि चाहिँदो सहयोग गर्ने प्रतिवद्धता जनाएको कार्यक्रममा जानकारी गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्