‘गुलाबी’ सकियो, नाजिरले १७ केजीको लेहेङ्गा लगाएर मुजरा गर्ने



रंगखबर, काठमाडौँ: समुन्द्र भट्टको निर्देशनमा बन्ने फिल्म ‘गुलाबी’को एक गीत बाहेक सम्पूर्ण छायांकन समाप्त भएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका धम्पुसबाट सुरु भएको फिल्मका निर्माण टिमले ठमेलमा अन्तिम दृश्य खिचेर इन्ड क्ल्याप गरेको हो।

दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको ‘गुलाबी’लाई आलोक शुक्लाले छायांकन गरेका हुन् भने फिल्ममा भद्र भुजेल सह- निर्देशकका रुपमा देखिएका छन। क्यानडाको टोरन्टो फिल्म स्कुलबाट निर्देशन कक्षा लिएर नेपाल फर्केकी निर्देशक भट्टले केहि वर्ष पहिले ‘आधा पेज’ नामको फिल्म निर्देशन गरेकी थिइन् । केहि वर्षको अन्तरपछि भट्ट पुनः फिल्म निर्देशनमा फर्किएकी हुन् । निर्देशक भट्टले दिएको जानकारी अनुसार छायांकन गर्न बाकी रहेको एक गीतमा अभिनेता नाजिर हुसेनले १७ केजीको लेहेङ्गा लगाएर मुजरा गर्नेछन।

पारालैंगिक कथावस्तुमा आधारित फिल्ममा नजिर हुसेन मुख्य भूमिका रहेको छ भने नाजिरको अपोजिटमा राजकुमार र सुशील सिटौला छन। फिल्ममा सञ्चिता लुइँटेल, विशाल पहारी,अनुपम श्रेष्ठ ‘हटी नटी’ र निशा बजगाईंको पनि मुख्य अभिनय रहेको छ। आकाश बुढाथोकी र रामकुमार श्रेष्ठको पटकथा रहेको गुलाबीमा संवाद भने अभिनेता नाजिर हुसेनको रहेको छ। फिल्मले फागुन ११ लाई रिलिज डेट तोकेको छ। ‘गुलाबी’संगै ‘छक्का पन्जा ४’ले पनि सोहि डेटमा रिलिज डेट फिक्स गरिसकेको छ।

प्रतिक्रिया दिनुहोस्