मोफसल टुरमा ‘ह्यारी कि प्यारी’ टिम, १२ वटा शहर पुग्ने योजना



रंगखबर, काठमाडौँ: माघ २० गतेबाट अल नेपाल रिलिज हुने फिल्म ‘ह्यारी कि प्यारी’का निर्माण टिम मोफसल प्रचारको लागि निस्किएको छ। नेपालगंज देखि अनौपचारिक रुपमा सुरु भएको टुर शनिबार चितवन पुगेपछि औपचारिक रुपमा सुरु भएको थियो। फिल्मका टिम चितवनबाट पर्साहुँदै पोखरा, बेनी, बुटवल, हेटौंडा, विराटनगर, धरान, इटहरी, दमक र अन्तिममा विर्तामोडमा सम्म पुगेर दर्शक माझ सक्षातकार पछि काठमाडौँ फर्किनेछ।

फिल्मका टिमले चितवन पुगेर महोत्सवमा रौनक बढाएपछि चितवनका मिडियासंग कुराकानी गरेको थियो। मोफसल टूरमा निर्देशक रिजालसंगै, जितु नेपाल, साम्राज्ञी राज्यलक्ष्मी शाह, विजय बराल, लक्ष्मी गिरी, सुभाष गजुरेल, रन्जना भट्टराई, सरला रिजाललगायतका कलाकारहरुले प्रस्तुति रहनेछ। गायक सपन कुमार राई, सुविन सिंह र गायिका बेनिशा पौडेलपनि सहभागी भएको टुरमा यी गायक गायिकाहरुले पनि प्रस्तुति दिनेछन । विर्तामोडमा दर्शकसँगको भलाकुसारी पछि फिल्मका निर्माण टिमले काठमाडौँ आएर फिल्मको प्रमोसन गर्नेछ।

बि.आर. प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा जितु र साम्राज्ञी मुख्य भूमिकामा देखिएका छन। फिल्मले सम्झौताको विवाहले जीवनमा नित्याउने उतारचढाव कथा बोल्छ। डा. कपिल रिजाल निर्देशित फिल्मको कथा पनि रिजाल स्वयमकै रहेको छ। सुदिप बराल, गिरिराज घिमिरे, डाक्टर रिजाल र अभिमन्यू निरवीको पटकथा/संवाद रहेको फिल्ममा  शिखर सन्तोष/युग भुषालको संगीत, कविराज गहतराजको कोरियोग्राफी, सुदिप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्