‘मेरो भ्वाइस यूनिभर्स’मा दिप श्रेष्ठको प्रवेश



रंगखबर, काठमाडौँ: ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेशन अफ अमेरिका’ले आयोजना गर्न लागेको विश्वकै सबैभन्दा ठूलो धनराशी रहेको २ दुई रियालिटी शो मध्ये ‘मेरो भ्वाइस यूनिभर्स’को निर्णायकमा बरिष्ठ गायक दीप श्रेष्ठको प्रवेश भएको छ ।

इन्ट्राले विश्वभर छरिएर रहेका प्रतिभाहरुलाई समावेश गर्दै ‘मेरो भ्वाइस र मेरो डान्स यूनिभर्स’को अडिसन गरिरहेको छ । यी दुबै रियालिटी शोको विजेताले १–१ करोड पुरस्कार राशी प्राप्त गर्नेछन् ।

काठमाडौंमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा फाउन्डेशनका केन्द्रिय अध्यक्ष डिल्ली अधिकारीको उपस्थितीमा नेपाल च्याप्टर अध्यक्ष दिलिप रायमाझीले निर्णायक मण्डललाई स्वागत गरेका थिए ।

आजबाट काठमाडौंको टोखास्थित स्टूडियोमा ‘मेरो भ्वाइस यूनिभर्स’को साइटलेस अडिसन हुनेछ । यो शोमा दीप श्रेष्ठसँगै पुष्पन प्रधान, शिव परियार, संगीतकार सुरेश अधिकारी, गायिकाद्धय अन्जु पन्त र सुजता बर्मा निर्णायकको रुपमा छन् । यस्तै, कार्यक्रमलाई हाँस्य कलाकार सन्दीप क्षेत्रीले रीमा विश्वकर्मासँग मिलेर होस्ट गर्ने भएका छन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा निर्णायक र होस्टसँग कागजी रुपमा संझौता समेत गरिएको थियो । ‘मेरो भ्वाईस र मेरो डान्स यूनिभर्स’लाई चाडै नै सभ्य र भव्य रुपमा नेपाल टेलिभिजन र एनटीभी प्लसबाट प्रशारण गर्ने अध्यक्ष डिल्ली अधिकारीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्