‘जारी’ र ‘बिहे पास’को चेपुवामा ‘बुलाकी’, निर्माता, निर्देशक तथा कलाकारले पोखे दुखेसो



रंगखबर, काठमाडौँ : शुक्रबारबाट नेपाल भरिका हलहरुमा बुलाकी, जारी र बिहे पास गरि ३ वटा फिल्म एकसाथ प्रदर्शनमा आउन लागेका छन। तिनैवटा फिल्मको अहिले अग्रिम बुकिङ्ग पनि खुली सकेको छ। नेपालको सबै भन्दा ठुलो मल्टीप्लेक्स ‘क्यु एफ एक्स’ले सबैको फिल्मको शोहरु बाँडफाड पनि गरिसकेको छ। जसमा फिल्म जारीले सबै भन्दा बढी ७१ शो प्राप्त गरेको छ भने त्यसै गरि दोश्रोमा ‘बिहे पास’लाई मल्टीप्लेक्सले ३३ शो दिएको छ। त्यसैगरी बुलाकीलाई भने १३ शो मात्र दिएको छ। जारी र बिहे पासको चेपुवामा परेपछि अहिले बुलाकी टिमले हरेको अन्तर्वार्तामा दुखेसो पोख्न थालेका छन।

आफ्नो फिल्मको सबैभन्दा कम शोज पाएपछि फिल्मका निर्माण टिमले मल्टीप्लेक्सका हलवालाहरुसँग चित्त दुखाएका छन। फिल्मका निर्देशक लक्ष्मण सुनार र कलाकार तथा निर्माता बिराज बिष्टले सामाजिक संजाल मार्फत आफ्नो फिल्मलाई हेला गरेको भन्दै दुखेसो प्रकट गरेका छन।

निर्देशक सुनार लेख्छन ‘ स्टार , ब्रान्ड र अस्वस्थ राजनितीको चपेटामा बुलाकी, नया बर्षको दिन बैशाख १ गते तीन चलचित्र छन । सबै चलचित्रमा निर्माताको लगानी सम्पुर्ण टिमको मेहनत जोडीएको हुन्छ । सबैलाई चलचित्र दर्सक सामु पुर्याउनु छ । कृपया नजन्मेको शिशुको भुर्ण हत्या नगरिदिनुस । पहिला २ शो दिने अनि केहिबेर मा १ शो घटाइ दिने चलचित्र हेर्न बाकी नै छ यति हतार नगरिदिनुस । शो घटाउने बढाउने दर्शकको हातमा छोडीदिनुस ।।। सबै चलचित्रलाई बराबर शो दिनुस दर्शकले माया नगरे हटाइ दिनुस हाम्रो गुनासो छैन ।’

त्यस्तै फिल्मका निर्माता तथा कलाकार विराज विष्टको पनि एउटै गुनासो रहेको छ। उनले फिल्म रिलिजको अन्तिम समयमा भने केही खल्लो महसुस भएको छ भन्दै लामो गुनासो पोखेका छन।

उनि लेख्छन ‘ नमस्कार ! यहि बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बुलाकी’ को निर्माता विराज विष्ट ।हाम्रो टिमको करिब २ वर्षको अथक मेहनतपछि फिल्मलाई सार्वजनिक प्रदर्शनको माध्यमबाट दर्शकमाझ ल्याउने तयारीमा छौँ । नयाँ मेकरको रूपमा चलचित्र उधोगमा पाइला राख्दाको उत्साहलाई आफ्नो मनमा हालसम्म जीवित राख्दा रिलिजको अन्तिम समयमा भने केही खल्लो महसुस भएको छ । वर्षौंदेखि यो क्षेत्रमा सक्रिय रहनुभएकाहरूबाट अन्तिम समयमा पाएको व्यवहार र अघोषित ‘निषेध’ले उत्साहसहित आउने म जस्ता नयाँ निर्मातामा निराशा छाउने अनुभुती गरेको छु । यो उधोगको बारेमा हिजो सुन्दै आएका हल्ला आज आफैंले भोग्दा सत्य साबित बनेका छन् । करोडौं लगानी गरेर हलसम्म आउँदा हल संचालक, वितरक अनि सम्मानित मानिएकै चलचित्रकर्मीले रिलिजमा देखाएको ‘सिण्डिकेट’ले कहिँकतै निराश बनाएको अनुभुती भएको छ । शोज बाँडफाँडको समयसम्म आउँदा नयाँ मेकर भन्दै फिल्मको विषयवस्तु र कलाकारको प्रस्तुति नहेरि मनोमानी तरिकाले शोज उपलब्ध गराउनु अनि प्रदान गरिएको शोजमा पनि उल्लेख गरेको समयप्रति झनै चित्तदुखाई छ । उत्साहलाई निराशामा परिणत गराउने यो कस्तो इन्डस्ट्री ? अत्यधिक शोजको आशा हाम्रो पक्कैपनी थिएन तर फिल्मको पहिलो पोस्टरदेखि टिजर ट्रेलरहुँदै गीतसम्म सार्वजनिक हुँदा दर्शकबाट प्राप्त उत्साहसहितको प्रतिक्रियालाई न्याय गर्दै सम्मानित स्थानको अपेक्षा हाम्रो हो । ‘बुलाकी’लाई गरिएको व्यवहारले भोलीको दिनमा यो क्षेत्रमा आउने नयाँ निर्मातालाई पक्कैपनि सोचमग्न बनाउनेछ । तर पनि म (हामी) बिचलित छैन (छैनौं), हालसम्मको साथलाई आभार व्यक्त गर्दै नयाँ वर्षमा दर्शकको न्यानो मायाको अपेक्षा राखेका छौँ । बाँकी सबै भगवान रूपी दर्शकको हातमा ।
।। जय बुलाकी ।। ।। बैशाख १ ।।

 

प्रतिक्रिया दिनुहोस्