‘हल्कारा’को ट्रेलर रिलिज



रंगखबर, काठमाडौँ: आगामी वैशाख २९ गतेबाट देशभर प्रदर्शन हुने फिल्म हल्काराको ट्रेलर सार्वजनिक गरिएको छ।  बिहिबार राजधानीमा पत्रकार सम्मेलन गर्दै निर्माण टिमले प्रचार स्वरुप फिल्मको ट्रेलर सार्वजनिक गरेको हो। २ मिनेट ४४ सेकेण्ड लामो ट्रेलरमा हुलाक सेवाको सरकारी जागिरमा रहेको युवकको कथा देख्न सकिन्छ । ट्रेलरले रोजगारीको लागि विदेशिएको पुरुष र उसलाई पर्खेर बस्ने एक नारीको कथा समेत प्रस्तुत गरेको छ । गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई ट्रेलरमा देखाउने कोसिस गरिएको छ । चलचित्रमा अभिनेता त्रिपाठीले हल्कारा अर्थात् हुलाकीको चरित्र निर्वाह गरेका छन् ।

बिक्रम सापकोटा निर्देशित फिल्मले सबैभन्दा पुराना फेस्टिवलहरु मध्ये एक ‘वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिवल २०२२’मा सर्वश्रेष्ठ फिल्मको अवार्ड ‘प्लेटिनम रेमी’ प्राप्त गरेको छ भने सोहि फेस्टिवलमा महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड प्राप्त गरेका छन् । साथै, ‘नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०२२’मा उत्कृष्ट ‘लङ्ग न्यारेटिभ फिल्म् ‘फ्लिकर्स रोड आइल्याण्ड अन्तर्राष्ट्रिय फिल्म महोत्सव २०२२’मा सेमिफाइनलिस्ट र यूकेको ‘कार्मार्थेन बे फिल्म फेस्टिवल २०२२’मा सेलेक्सनमा परेको थियो ।

फिल्ममा महेश त्रिपाठीले रामको रुपमा हुलाकीको चरित्र निर्वाह गरेका छन् भने बिनिता थापा मगर मियाको चरित्रमा छिन्। फिल्ममा महेश र बिनिता बाहेक, उमेश तामाङ, पशुपति राई, स्व. दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय रहेको छ । फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन् । चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मको सम्पादन पनि विक्रम स्वयंको हो । फिल्मलाई काठमाडौँमा करन श्रेष्ठ र जीजीए ग्रुपले वितरण गर्नेछ ।

https://youtu.be/wf1hbVYcjHs

प्रतिक्रिया दिनुहोस्