समिक्षाको ‘लैजा सन्देश’ सार्वजनिक



रंगखबर, काठमाडौँ: अर्जुन पोखरेलको शब्द तथा संगीतमा तयार भएको गीत ‘लैजा सन्देश’ सार्वजनिक भएको छ । गीतमा समीक्षा अधिकारीको स्वर रहेको छ । अर्जुन र समीक्षाले दर्जन बढी गीतमा सहकार्य गरेका छन् । संगीतकार पोखरेलले समीक्षाका लागि तयार गरेको यो १३ औँ गीत भएको जानकारी गराए ।

पोखरेलले नै लेखेका शब्दले समीक्षाको वर्तमान जिन्दगीका केही भावनाको प्रतिनिधित्व गरेझैँ लाग्छ । गीतले एकतर्फी मायाको भावनालाई अभिव्यक्त गरेको छ । गीतको भिडियो सामान्य रुपमा बनाइएको छ । गीत रेकर्ड गरिएको समयमा खिचिएका फुटेजलाई नै भिडियोको रुप दिइएको छ ।

पछिल्लो समय भिडियोमा लाखौँ खर्च गरेका भन्दा यसरी नै रेकर्डिङ स्टुडियोमा गरिएका गीतले राम्रो दर्शक पाउन थालेका छन् । यसले अडियो बलियो भए गीत दर्शकसम्म महंगोमा बनेका भिडियो बिनै पनि पुग्ने सन्देश स्थापित भएको छ । अर्जुन पोखरेलले पनि यही शैली अपनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्