‘परदेशी २’लाई मन पराए बाग्लुङ्गे दर्शकहरुले



रंगखबर, काठमाडौँ: गायक प्रकास सपुतको डेव्यु फिल्म ‘परदेशी २’को बाग्लुङमा प्रिमियर गरिएको छ । बिएसआर मुभिजमा आयोजित प्रिमियर शोमा काठमाडौं बाट उपस्थित केही पत्रकार र स्थानिय दर्शकको बाक्लो उपस्थिति रहेको थियो ।

निर्देशक नारायण रायमाझी, कलाकारहरु प्रकाश र केकी अधिकारीसहित सञ्चारकर्मीको उपस्थितिमा फिल्मको प्रथम प्रदर्शनी गरियो । प्रिमियरअघि ‘परदेशी २’ को टिमलाई स्थानीय लोकतान्त्रिक चोकबाट बागलुङ नगरप्रमुख वसन्तकुमार श्रेष्ठ, नगर उपप्रमुख राजु खड्का लगायतका जनप्रतिनिधिले पुष्पगुच्छाले स्वागत गरेका थिए ।

प्रिमियरमा सहभागी मेयर श्रेष्ठले बागलुङमा फिल्मको प्रिमियर आयोजना हुनुले नगरको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए । बागलुङ नगरलाई फिल्म छायांकनको गन्तव्यस्थल बनाउन नगरपालिकाले काम गर्ने बताए । बाग्लुङ गायक तथा अभिनेता प्रकास सपुतको गृह जिल्ला पनि हो । फिल्म हेरेर हलबाट निस्कँदै गर्दा उपस्थित दर्शक तथा पाहुनाका आँखा रसाएका थिए । फिल्म हरेका सबै दर्शकले परदेशी २ अहिलेको समय सापेक्ष बनेको भन्दै राम्रो प्रतिक्रिया दिएका छन् ।

आफुले अभिनय गरेको पहिलो फिल्म गृह जिल्लामा पहिलो प्रदर्शन गर्न पाउँदा निकै खुशी लागेको सपुतले बताए । आफ्नो डेव्यु फिल्मको पहिलो दर्शक नै गृह जिल्लाबासी हुँदा आफुलाई भाग्यमानी ठानेको छु, साथै आफ्नो पहिलो प्रयासलाई पहिलो दर्शकको रुपमा जिल्लाबासीलाई हेर्न अवसर जुराईदिनु भएकोमा निर्देशक नारायण रायमाझि र निर्माता राजेश वंशल सरप्रति आभारी छु ।

नारायण रायमाझी निर्देशित फिल्म आगामी असोज २६ गतेबाट नेपालसहित विदेशका विभिन्न ठाउँमा रिलिज हुँदैछ । दशैंको अवसर पारेर प्रदर्शनमा आउन लागेको फिल्ममा प्रकास र केकीका अलवा नीर शाह, दीलिप रायमाझी, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, रमा थपलिया, सबिन बास्तोता, देवेन्द्र बब्लु र रोशनी कार्की लगायतको अभिनय छ ।

नारायण इन्टरनेसनलको प्रस्तुतिमा राजेश बंशल र नारायण रायमाझीको संयुक्त लगानी रहेको फिल्ममा गीतकार तथा संगीतकार रमेश विजीको कथा लेखन छ । फिल्मले उच्च शिक्षाका लागि विदेशिन बाध्य विद्यार्थीको कथालाई प्रस्तुत गरेको छ । २०१५ मा प्रदर्शन आएको परदेशी पनि वैदेशिक रोजगारीको कथामा आधारित थियो । त्यसबेला यो फिल्म बक्सअफिसमा सुपरहिट भएको थियो ।

मानकृष्ण महर्जनको छायांकन, अष्ट महर्जनको द्वन्द्व निर्देशन, रामजी लामिछाने र गोविन्द राईको कोरियोग्राफी रहेको फिल्मलाई दीर्घ खड्काले सम्पादन गरेका हुन् । फिल्मलाई डिसिएन र एफडी कम्पनीले वितरण गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्