आफ्नो २७ औँ फिल्म ‘पर्खि बसें तिमीलाई’लाई लिएर उत्साहित निर्देशक दीपक श्रेष्ठ



रंगखबर, काठमाडौँ: निर्देशक दीपक श्रेष्ठले आफ्नो २७ औँ निर्देशकीय फिल्म ‘पर्खि बसें तिमीलाई’ यही आउँदो पुस २७ गते प्रदर्शन गर्दैछन। माघेसंक्रान्ति लक्षित गर्दै प्रदर्शन गरिने फिल्ममार्फत अभिनेता किरण श्रेष्ठ र अभिनेत्री रक्षा बुढाथोकीले पहिलोपटक मुख्य भूमिका निर्वाह गर्दैछन् । शनिवार साँझ आयोजित पत्रकारसम्मेलनमा निर्देशक श्रेष्ठ, अभिनेता श्रेष्ठ र अभिनेत्री बुढाथोकीसँगै निर्माता राजाराम बुढाथोकी, सङ्गीतकार महेश खड्का, गीतकार डाक्टर कृष्णहरी बराल, गायक प्रमोद खरेल, वितरक करण श्रेष्ठ लगायत उपस्थित थिए ।

उक्त अवसरमा फिल्मको विषयमा जानकारी गराउनुका साथै निर्देशक श्रेष्ठले २७ औँ फिल्म निर्देशन गर्दासम्मको अनुभव सुनाएका थिए । अभिनेता श्रेष्ठ पनि मण्डला नाटकघर हुँदै फिल्मसम्मको यात्राको अनुभव साटे । उनले सातवर्षमा तेह्र नाटकमा अभिनय गरिसकेका छन् ।

यसै फिल्ममार्फत मुख्य अभिनेत्रीको रुपमा देखा पर्दै गरेकी अभिनेत्री बुढाथोकीले पनि फिल्म यात्राको अनुभव साटिन । बाल्यकालदेखि नै फिल्म प्रतिको लगावलाई उनले मुर्तरुप दिएको खुसी व्यक्त गरिन् । निर्माता बुढाथोकीले फिल्म निर्माणमा आउनुको कारण बताए । उनले व्यावसायिक रुपमै अगाडि बढ्ने योजना साट्दै निर्माणलाई निरन्तरता दिने जनाए ।

रोमन फिल्म र तपश्री फिल्म्स (सिक्किम) को संयुक्त व्यानरमा निर्माण गरिएको फिल्ममा शिव श्रेष्ठ, विल्सन विक्रम राई, सुनिता श्रेष्ठ लगायतका कलाकारले अभिनय गरेका छन् । यसमा राजाराम बुढाथोकीको निर्माण, कोमल गुरुङको सह निर्माण, परिच्छेद सेन, मौनता श्रेष्ठ र पुरुषोत्तम ढुंगेलको लेखन, संकल्प भुजेलको छायांकन, शम्भुजित बाँस्कोटा, दीपक शर्मा, महेश खड्का र बाबुल गिरीको सङ्गीत, भुपेन्द्र अधिकारीको सम्पादन, मनोरञ्जन श्रेष्ठको कलर करेक्सन, रामजी लामिछाने र निशा रसाइलीको नृत्य निर्देशन रहेको छ ।

यसको छायांकन नेपालसँगै सिक्किमको रमणीय दृश्यमा गरिएको छ । फिल्म काठमाडौँ उपत्यकामा करण श्रेष्ठले रीच इन्टरटेनमेन्ट मार्फत र मोफसलमा एफडी कम्पनिले प्रदर्शनका लागि वितरण गर्नेछ ।

यसमा लोकप्रिय गीत ‘कालो चस्मा लाउ है मैया’ रीमेक गरिएको छ । फिल्म ‘बादलपारी’ मा समावेश लोकप्रिय गीतको रीमेकमा सुरेन्द्र राणाकै शब्द र शम्भुजित बाँस्कोटाको सङ्गीत रहेको छ । गीतलाई गायक प्रमोद खरेल र गायिका मिलन नेवारले गाएका छन् ।

दीपक श्रेष्ठ, निर्देशक : मैले अघिल्ला फिल्म झैँ नयाँलाई अवसर दिएको छु । उहाँहरू नाममा नयाँ भएता पनि काम पुरानाले झैँ गर्नुभएको छ । तीन दशकको फिल्म यात्राको अनुभवले पनि म किरण र रक्षाको भविष्य उज्वल छ भन्न सक्छु । तर, यहाँ काम नहेरी नै निर्णय सुनाइन्छ । जो पनि नयाँ बाटै पुरानो हुन्छन् । तर, नयाँलाई लिएर फिल्म बनाउँदा बटुलेको अनुभव सुखद छैन । हलमा फिल्म चल्ने वा नचल्ने टुङ्गो नहुने, मिडियाले पनि उचित स्थान नदिने लगायतका धेरै समस्याको सामना गर्दै यहाँसम्म आएका छौँ । नयाँलाई अवसर दिदैनन् भनिन्छ, अवसर दिदा चलचित्र भवनदेखि विभिन्न स्थानमा सङघर्ष गर्नुपर्ने हुन्छ । यही शैलीले नयाँलाई यस क्षेत्रमा आउन निकै गाह्रो हुने महसुश गरेको छु ।

किरण श्रेष्ठ,अभिनेता : मण्डलामा सातवर्षदेखि जोडिएको छु भने तेह्र बढी नाटकमा अभिनय गरेको छु । फिल्ममा डेब्यु गर्ने अवसर पहिले पनि नपाएको होइन, तर एउटा अनुभवी टिमसँग काम गर्ने रहर थियो । त्यहिँ अनुरुप मैले यो टिम रोजेर काम गरेको हुँ । मैले के कस्तो गरे भन्ने त फिल्म प्रदर्शन पश्चात नै थाहा हुनेछ । यद्यपि नयाँलाई दिने पर्ने हौसलामा भने कमि छ, जस्तो लागेको छ । मैले पाएको भूमिकालाई जीवन्त बनाउन कुनै कसर बाँकी राखेको छैन । म यसमा पठाओ चालकको भूमिकामा छु । त्यही क्रममा एक दिन आभा अर्थात् रक्षासँग भेट हुन्छ । त्यही भेटघाटले महसुश गराउने प्रेम र त्यसमा आउने उतारचढावमा फिल्म केन्द्रीत छ । सुन्दा नयाँ नलाग्न सक्छ, तर हेर्नुभयो भने एउटा फरक कथा तपाइले पाउनु हुनेछ । यो मेरो पुस्ताले प्रेम बुझ्न र अग्रजले आफ्नो सन्तान बुझ्न हेर्नु पर्ने फिल्म हो ।

रक्षा बुढाथोकी, अभिनेत्री : मेरो अभिनयका हिसाबले दोस्रो भएता पनि मुख्य भूमिका निर्वाह गरेको पहिलो फिल्म हो । बाल्यकालदेखि नै गीतमा नृत्य गर्ने, अभिनयको अभ्यास गर्ने गर्थे । तर, स्कुल जीवन सकिएपछि यसमा नै भविष्य बनाउने निर्णय लिएँ । त्यहिँ अनुरुप सुरु गरेकी हुँ । मैले बाल्यकालदेखि नै फिल्म निर्देशकका रुपमा देखेको दीपक सरसँग काम गर्न पाउँदा उत्साहित छु । उहाँले कहिले नयाँ जस्तो गर्नुभएन र टिमको सहयोगले काम गर्न सहज भयो । यस क्षेत्र आफूलाई अगाडि बढाउन उहाँहरूबाट प्राप्त भएको सिकाईले मदत गर्नेछ । मैले फिल्ममा आफ्नै उमेर समुहकी युवतीको भूमिका निर्वाह गरेकी छु । सम्पन्न परिवारको सरल युवतीको भूमिका छ । जसले माया खोज्छे तर पाउदिन । आकाश अर्थात् किरणसँगको प्रेम नै फिल्मको कथासार हो । तर, त्यसमा आउने उतारचढावले हाम्रो पुस्तालाई मायाको बारेमा स्पष्ट बनाउँछ भन्नेमा विश्वस्त छु ।

प्रतिक्रिया दिनुहोस्