रंगखबर, काठमाडौँ: बुधबारबाट प्रदर्शनमा आएको फिल्म ‘लाज शरणम्’लाई दर्शकको राम्रो साथ मिलेको छ । दर्शकले फिल्मको तारिफ गरिरहेका छन् ।
फिल्मले समसामयिक कथामा व्यङ्ग्य मिसाएको मन परेको दर्शकले प्रतिक्रिया दिइरहेका छन् । हलमा पुगेका दर्शकले सिताराम कट्टेल धुर्मुसको क्यारेक्टरको तारिफ गरिरहेका छन् । उनले हसाएको बताएका छन् ।
“धुर्मुसको क्यारेक्टरले हसायो । नेताहरूप्रति गरेको व्यङ्गय मन पर्यो,” विग मुभिज पुगेका एक दर्शकले भने, “समग्रमा फिल्म मन पर्यो । कमेडी, व्यङ्ग्य र म्यासेज सबै मनपर्यो ।”
अर्का एक दर्शकले भने, “धेरै समयपछि धुर्मुसलाई फिल्ममा देखियो । पाँडेले हँसाए । सक्गिोनिका कलाकारलाई फिल्ममा देख्न पाइयो, राम्रो छ ।”
फिल्ममा सुन्दर कर्णालीको दृश्य पनि दर्शकले मन पराएका बताएका छन् । दर्शकले मन पराउँदा फिल्मले पहिलो दिन एक करोड १० लाख ग्रसकलेक्सन गरेको छ ।
फिल्ममा काठमाडौंदेखि डोल्पासम्मका दृश्य समावेश छन् । जसले दर्शकको मन जितिरहेको छ ।
सुन्दर कर्णालीको दृश्य समेटिएको फिल्ममा कर्णालीका सुन्दर सिन समावेश छन् । कर्णालीका सुन्दर हिमाल, खर्क र पठारले दर्शकको ध्यान खिच्छ ।
कर्णालीका दुःख मात्रै चलचित्रमा छैन । प्राकृतिक रूपमा सुन्दर कर्णालीका मनोरम दृश्य र सुन्दर मन भएका मान्छे पनि छन् । महेश त्रिपाठी कर्र्णालीको एक दुखी पात्र त हुन् नै चोखो मन भएका व्यक्ति पनि हुन् ।
उनी जति सुन्दर ठाउँमा जन्मिएका छन्, त्यति नै चोखो उनको मन र उद्देश्य पनि छ । आफ्नो दुनो सोज्याउनेहरूको भीडमा महेश चोखो मन भएका पात्र हुन् । उनको उद्देश्य जति राम्रो छ, त्यति नै राम्रो अभिनय पनि छ ।
उनको अभिनयको ताकतले सिंगो फिल्मलाई सजिव बनाएको छ । तारिफयोग्य महेशको अभिनयले कर्णालीको दृश्यले जति मोहित गर्छ दर्शकलाई त्यति नै उनको अभिनयले पनि । लोभलाग्दो उनको अभिनयले ‘लाज शरणम्’लाई सम्झनायोग्य फिल्म बनाएको छ ।
अब्बल अभिनय हेर्ने चाहना भएका दर्शकका लागि महेशको अभिनय हेर्न ‘लाज शरणम्’ छुटाउनै नहुने फिल्म बनेको छ । सुन्दर कर्णाली र पवित्र मन बोकेर हिँड्ने महेशले मात्रै पनि यो चलचित्र हेर्ने दर्शकलाई होल्ड गर्छन् ।
लोकप्रिय हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले निर्माण गरेको फिल्म ‘लाज शरणम्’मा मुख्य भूमिकामा सिताराम कट्टेल (धुर्मुस), विजय बराल, अर्जुन घिमिरे, सागर लम्साल, हरिष निरौला छन् । फिल्ममा प्रियाना आचार्य, महेश त्रिपाठी, अर्पण थापा, रेणु योगी, विजय लामा, मुकुन्द श्रेष्ठ, माला लिम्बूलगायत कलाकारको अभिनय रहेको छ ।
जेपिटी क्रियसनको ब्यानरमा बनेको फिल्मका निर्माता नवीन श्रेष्ठ हुन् भने राम नरेश शाह र सिर्जना खड्का सह–निर्माताका रूपमा रहेका छन् । फिल्मलाई कुमार कट्टेलले निर्देशन गरेका छन् ।


