रंगखबर, काठमाडौँ: ‘जारी २: सङ्ग अफ च्याब्रुङ’को सम्पूर्ण छायांकन सकिएको छ। निर्माण टिमले फ्लोरमा गएको ३६ औँ दिनमा फिल्मको इण्ड क्ल्याप गरेको हो। फिल्मका निर्देशक उपेन्द्र सुब्बाले अन्तिम पटक एक्सन कट गर्दै फिल्मको छायांकन सकेका हुन्। पूर्वी नेपालको पाँचथरमा छायांकन गरिएको फिल्मको रिलिज बडादशैंको अवसरमा हुने जानकारी निर्माण टिमले दिएको छ।
छायांकन सकिएसँगै निर्माण टिमले फिल्मका मुख्य कलाकार दयाहाङ राई र मिरुना मगरको क्यारेक्टर लुक्स समेत सार्वजनिक गरेको हो । सार्वजनिक तस्वीरमा मिरुनालाई लिम्बु पहिरन र दयाहाङलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा देख्न सकिन्छ ।
बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को व्यानरमा निर्माण भएको फिल्मका निर्माता सफल निर्देशक रामबाबु गुरुङ हुन् । फिल्ममा दयाहाङ र मिरुनासहित विजय बराल, ऋचा शर्मा, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, बिष्णु मोक्तान, कमलमणी नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय छ ।