निर्माण घोषणासँगै चर्चामा रहेको फिल्म ‘माग्ने राजा’को प्रदर्शनको दिन नजिकिँदै जाँदा यसका प्रचार सामाग्रीले पनि दर्शक लोभ्याउँदै गएका छन् । पोस्टर रिलिज गरेर आक्रामक प्रचारमा उत्रिएको फिल्मले अहिलेसम्म दुई गीत र टिजर सार्वजनिक गरिसकेको छ । जसमध्ये एउटा गीतले ठिकैको माया पाएको भएपनि टिजर र हालै सार्वजनिक भएको गीत ‘म त सुतेर उठेको पैसामा’ले दर्शकको राम्रो माया पाएका छन् ।
फिल्मको टिजरले हालसम्म १२ लाख हाराहारी माया पाइसकेको छ भने ५ दिनअघि सार्वजनिक ‘म त सुतेर उठेको पैसामा’ले छोटो समयमै २१ लाख भ्युज प्राप्त गरेर फिल्मलाई दर्शकमाझ थप प्रतीक्षित बनाएको छ ।
पैसालाई केन्द्रमा राखेर बनेको गीतको मेलोडी र शब्दले दर्शकको मनोविज्ञान टपक्क समातेको छ । यही कारण अहिले गीत टिकटकमा पनि भाइरल बनेको छ । गीतका टुक्रा टुक्रामा बनेका रचनात्मक टिकटकले जो कोहीलाई प्रशन्न बनाउँछन् ।
ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको फिल्म भदौ ६ मा प्रदर्शनमा आउँदैछ । मुनाल घिमिरेको निर्माणमा तयार भएको फिल्ममा विल्सन विक्रम राई,वर्षा सिवाकोटी, शिशिर वाङदेल, शारदा गिरी, राधिका कँडेल आदि कलाकारको अभिनय रहेको छ । नरेन्द्र मैनालीको छायांकन, मित्र गुरुङको सम्पादन, दीपक शर्मा र बाबुल गिरीको संगीत रहेको फिल्मलाई सामीप्य राज तिमल्सेनाले लेखेका हुन् ।



