‘माग्ने राजा’को अग्रीम बुकिङ खुल्ला



रंगखबर, काठमाडौँ: शुक्रबार बाट प्रदर्शनमा आउने फिल्म ‘माग्ने राजा’को निर्माण टिम यतिवेला व्यापक प्रचारमा जुटेको छ । फिल्मको रिलिज मिति नजिकिएसँगै निर्माण टिम काठमाडौं उपत्यकाका विभिन्न कजेजदेखि कार्यक्रमसम्म पुगेर धेरैभन्दा धेरै दर्शकसम्म पुग्न प्रयासरत छ ।

यसैका लागि मंगलबार फिल्मको निर्माण टिम काठमाडौं चुच्चेपाटीस्थित मनासलु स्कुल तथा कलेज पुगेर सिनेमाको प्रचार गरेको थियो । जहाँ फिल्मका मुख्य अभिनेता केदार घिमिरे (माग्ने बुढ) र निर्देशक ऋषि लामिछाने पुगेका थिए । उनीहरु दुवै जनाले स्कुल तथा कलेजका विद्यार्थीलाई फिल्म हेर्न अनुरोध समेत गरेका छन् । त्यससँगै अभिनेता माग्ने बुढाले फिल्मको गीत ‘म त सुतेर उठेको पैसामा’ गीतमा विद्यार्थीसँग नृत्य समेत गरेका हुन् ।

फिल्मको केही दिन अघि नै सेन्सर भैसकेको छ । सेन्सर बोर्डले फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । यो फिल्म हरेक उमेर समुहका दर्शकले सजिलै हेर्न सक्ने भएका हुन् ।

सेन्सर भएको केही दिन भएपनि मंगलबारबाट यो सिनेमाको अग्रीम टिकट बुकिङ समेत खुल्ला गरिएको छ । सुरुवाती चरणमा फिल्मले उत्साहजनक शो पाएको छ । सवै हलले शो नखोली सकेकाले  बुधबार साँझसम्म देशभरका अधिकांश म्लटीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले अग्रीम टिकट बुकिङ खुल्ला गरिसक्ने अपेक्षा निर्माण टिमको छ ।

दर्शकमाझ यो फिल्मको चर्चा व्यापक छ । फिल्मले हाइप अनुसार सुखद् ओपनिङ गर्ने विश्वास गरिएको छ । ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको फिल्मलाई मुनाल घिमिरेले निर्माण गरेका हुन् । फिल्ममा केदार प्रसाद घिमिरे (माग्ने बुढा), वर्षा सिवाकोटी, विल्सन विक्रम राई, शारदा गिरी, शिशिर वाङ्देल लगायतका कलाकारहरुको अभिनय छ ।

आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका हुन् । फिल्ममा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने फिल्ममा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्