रंगखबर, काठमाडौँ: चलचित्र ‘गोबर गणेश’को पोस्टर सार्वजनिक गरिएको छ । माघ १ गते रिलिज हुने चलचित्रको निर्माण पक्षले आज पोस्टर सार्वजनिक गरेको हो ।
पोस्टरमा चलचित्रका मुख्य दुई कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) र वर्षा शिवाकोटी फिचर्ड छन् । उनीहरू एकअर्काको अपोजिटमा रहेको पोस्टरले प्रस्ट पारेको छ ।
वर्षा रिक्सा चलाइरहेकी छन् भने सोही रिक्सामा बल्छी धुर्बे छन् । दुवै प्रशन्न मुद्रामा छन् । उनीहरूको मुहारले उनीहरू खुसीखुसी जिन्दगी बिताइरहेको प्रतित हुन्छ ।
पोस्टरले उनीहरू नगरपालिकाको फोहोर उठाउने कर्मचारीजस्ता देखिन्छन् । रिक्सामा फोहोर छ, फोहोर उठाउने डस्ट प्यान छ । बल्छीको गलामा सिठी छ । पृष्ठभूमिमा सहरका बाक्ला घर छन्, जो कीर्तिपुर सहर जस्तो देखिन्छ ।
पोस्टरमा कलर टोनजस्तो देखिने हरियो रङ छन् । यसले पोजेटिभ स्टोरी चलचित्रले भन्ने संकेत गरेको छ । तर, यसबारे निर्माणपक्षले केही जानकारी भने दिएको छैन ।
‘गोबर गणेश’लाई मरिचमान श्रेष्ठ (बल्छी धुर्बे)ले निर्देशन गर्दैछन् । छायांकन सकेको यो चलचित्र अहिले पोस्टप्रोडक्सनमा छ ।
पोस्टर सार्वजनिक गर्दै निर्देशक श्रेष्ठले ‘गोबर गणेश’ सानो पर्दामा जस्तै ठूलो पर्दामा पनि दर्शकबाट माया पाउने अपेक्षा रहेको बताए । दर्शकले मन पराउने विषय र प्रस्तुतिसहित आउन लागेकाले दर्शकको साथ पाउने उनको विश्वास छ ।
बल्छी धुर्बे फिल्मस्को प्रस्तुतिमा निर्माण भइरहेको यो चलचित्रमा बल्छी र वर्षासँगै विनोद न्यौपाने,पदम तामाङ, निर्मल शर्मा, लक्ष्मीनाथ तिमलसेना, सन्तोष बानिया, सन्दीप लामा, माओत्से गुरुङ, सीतादेवी तिमल्सिना, पुजन घिमिरे (पुकु), बुद्धि तामाङ, विशाल पहाडी, रमेश बुढाथोकी, स्वस्तिका लामिछानेलगायत छन् ।
तारानाथ न्यौपाने चिफ एडी रहेको चलचित्रमा योगेश काजी शाहको बीजीएम, शंकर पाण्डेको प्रोडक्सन, शिवराम श्रेष्ठको डीओपी र विपीन मल्लको सम्पादन रहनेछ ।
टौवा स्टुडियोको पब्लिसिटी डिजाइन रहने चलचित्रको डिजिटल पार्टनरमा ओएसआर डिजिटल रहेको छ । नेपालमा यो चलचित्रको वितरण श्री ब्याकटेस इन्टरटेनमेन्टले गर्नेछ ।



