‘लालीबजार’ आमा र छोरीको कथा हो : लेखक तथा निर्देशक यम थापा



षट्कोण आर्ट्सले निर्माण गरेको फिल्म ‘लालीबजार’ आगामी वैशाख १८ मा प्रदर्शन हुँदैछ । निर्माता म्याक्स दीपेश खत्री, अभिनेता रवीन्द्रसिंह बानियाँ र निर्देशक प्रदीप भट्टराईलगायत रहेको षट्कोण आर्ट्सले ‘जात्रा’, ‘जात्रै जात्रा’, ‘महापुरुष’ र ‘महाजात्रा’ जस्ता सफल फिल्म निर्माण गरिसकेका छन् । यद्यपि आगामी फिल्म ‘लालीबजार’ मा निर्देशक प्रदीप भट्टराईले निर्देशनको जिम्मा यम थापालाई दिएका छन् ।

‘लालीबजार’ को कथा पनि उनकै हो । निर्देशक थापाले ‘रज्जा रानी’, ‘हुर्रे’, ‘मेरी मामु’ जस्ता विषयप्रधान फिल्मको निर्देशन गरिसकेका छन् भने ‘कोहिनूर’, ‘अञ्जिला’, ‘परान’ लगायतका फिल्मको पटकथामा काम गरिसकेका छन् । कथाकै छलफलका क्रम निर्देशक थापासँग षट्कोण आर्ट्सको सहकार्य भएको थियो ।

‘षट्कोण आर्ट्सले तराईको विषयमा एउटा फिल्म बनाउने तयारी गरेको थियो, सोहिक्रममा छलफल गर्न हाम्रो भेट भएको थियो । छलफलकै क्रममा राम्रो कथा पाएमा लगानी गर्ने रवीन्द्रसिंह बानियाँले भन्नुभयो । मसँग रहेको आमाको विषय मैले दिए, केही दिनमा यसमा काम गर्न सकिन्छ भन्नेमा हामी विश्वस्त भयौँ । त्यसरी लालीबजारको सुरुआत भएको हो’, निर्देशक थापाले भने ।

उनले कथा दिएता पनि फिल्मको निर्देशन गर्ने विषयमा सोच बनाएका थिएनन् । षट्कोण आर्ट्सका फिल्मलाई प्रदीप भट्टराईले नै निर्देशन गरिरहेका थिएँ । आफ्नो कथालाई राम्रो निर्देशकलाई सुम्पेकोमा निर्देशक थापा खुसी नै थिएँ । तर, उनै निर्देशक भट्टराईले निर्देशक थापालाई निर्देशन गर्न प्रस्ताव गरे ।

‘मैले कथा दिएँ, त्यसको पटकथामा पनि छलफल भयो । मलाई पनि निर्देशक भट्टराईले नै निर्देशन गर्नुहुन्छ भन्ने लागेको थियो, तर षट्कोण आट्र्सले नै मलाई निर्देशनको प्रस्ताव गर्नुभयो । उहाँहरू कसैले निर्देशन गर्ने चर्चा नै गर्नुभएन, फिल्मलाई राम्रो बनाउन सबैले मेहनत गर्नुभयो’, निर्देशक थापाले भने ।

फिल्मको पटकथा लगभग फाइनल भएपछि छायांकनस्थल भिजिटका क्रममा निर्देशक भट्टराईले नै फिल्मको नाम ’लालीबजार’ राख्न प्रस्ताव गरे, जसमा सबै सहमत भए । निर्देशक थापाले फिल्मको विषयवस्तुलाई नखुलाएता पनि आमाछोरीको कथामा फिल्म तयार भएको बताए ।

‘मैले धेरै अगाडिदेखि देख्दै र बुझ्दै आएको एउटा कथालाई फिल्मको स्वरूप दिएको छु । यो आमा र छोरीको कथा हो, जो समुदायको छन् । फिल्मले हाम्रो समाजको एउटा पाटोलाई चित्रण गरेको छ । यो फिल्मले हामीलाई सामाजिक विषयमा सोच्न बाध्य बनाउनेमा विश्वस्त छु’, निर्देशक थापाले भने । फिल्मको सार्वजनिक पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ र दोस्रो गीत ‘मिठो संसार’ दर्शकले रुचाएका छन् । दुवै गीत युट्युबसँगै टिकटक, रील्स र शटसमा लोकप्रिय भइसकेका छन् ।

फिल्म ‘लालीबजार’ को प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई तय गरिएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, प्रदीप ढकाल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी लगायतको अभिनय रहेको छ ।

यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । विशाल थियटरमा अभिनेता र निर्देशकको रुपमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् ।

फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् । फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, पब्लिसिटी डिजाइनर रोयल भीमसेन (ट्राइडेन्ट) कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ । 

प्रतिक्रिया दिनुहोस्